इटहरीः विश्वकै दुर्लभ मूर्तिका साथमा इलामको सीमावर्ती मानेभञ्ज्याङ–सन्दकपुरको बीचमा पर्ने मेघममा रहेको गुम्बा पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । विभिन्न एक सय आठ ओटा मूर्तिहरुले यहाँ अनुसन्धानकर्ताहरुलाई पनि तान्न थालेको छ ।

पुरातात्विक महत्वका मूर्तिहरुको अनुसन्धानका लागि यो गुम्बाले धेरै मदत पुर्याउने गरेको छ । पासाङ तामाङले करिब सात दशकअघि स्थापना गरेको यो गुम्बा हालसम्म उनकै परिवारको संरक्षणमा रहेको छ । साङछेन ङग्युर होसाल देक्षेन छोलिङ गुम्बाको मूर्तिमा मानव जीवनका भिन्न–भिन्न क्रियाकलाप, राशलीला झल्कने दृष्यलगायतको कलात्मक प्रस्तुति छ । यी मूर्तिहरुलाई शान्ति र क्रान्तिको प्रतिकका रुपमा पनि लिने गरिन्छ ।

यहाँ स्थापित मूर्तिहरुमा मानिसले जीवनलाई सत्मार्गमा अग्रसर गराउनुपर्ने दर्शन प्रतिबिम्बित हुने गरेको बौैद्ध धर्माबलम्बीहरुको विश्वास छ । गलत काम गरे इश्वरीय शक्तिले दण्डित गर्ने उनीहरुको भनाइ छ । बौद्ध पुर्णिमाका साथै अन्य बौद्ध पर्वहरुमा यहाँ भक्तजनको विशेष जमघट हुने गरेको छ । आन्तरिक पर्यटकका अतिरिक्त यस गुम्बामा भारत तथा पश्चिमा राष्ट्रका पर्यटकहरुसमेत भ्रमणका लागि पुग्ने गरेका छन् । यस गुम्बाको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई दृष्टिगत गर्दै सरकारी प्रयासमा यसको संरक्षण र प्रचारप्रसार गर्नसके यसबाट मनग्य आय आर्जन गर्न सकिने सम्भावना छ ।