धरानः एलएलबी अध्ययन गरेर आफ्नो छुटै योग्यता बनाई सरकारी जागिर खाने लक्ष्य राखेर एलएलबी प्रथम वर्षको भर्नाका लागि आवेदन दिएका बिर्तामोडका राजकुमार ओडारीले सोचेका थिए । प्रदेशकै एक मात्रै एलएलबी अध्ययन हुने धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्नाका लागि आवेदन दिए । आवेदन दिएपछि प्रवेश परीक्षाका लागि सगै कम्मर कसेर पढ्न थाले, उनले लोकसेवा आयोगको तयारीसमेत गरे । ओडारीले इलामको माई नगरपालिकाको शिक्षा शाखाको अधिकृतको रुपमा १ वर्ष अघिदेखि कार्यरत छन् । यता एलएलबी अध्ययन गर्न पाउने कि नपाउने कुनै अत्तोपत्तो छैन् ।

क्याम्पसले अहिलेसम्म न त प्रवेश परीक्षा नै लिएको छ, न त परीक्षाको कुनै मिति नै तोकेको छ । प्रवेश परीक्षाको लागि निवेदन दिएको ६÷७ महिनासम्म त बुझ्दै थिए, अब त थाकिसकेको ओडारी बताउँछन् । उनले भने, ‘कि त परीक्षा कहिले हुन्छ भन्दिनुपर्यो कि हँुदैन भने आवेदनका लागि दिएको दस्तुर फिर्ता हुनुपर्यो, निर्णय दिन नसक्दा अन्यौलमा परेको छु ।’ क्याम्पसले समयमै निर्णय गर्न नसक्दा समयनै खेर गएको उनको भनाइ छ । त्यस्तै अन्यौलमा छिन् धरानकी रेशी राई । आफ्नो शैक्षिक योग्यता थप गर्न उनी एलएलबीमा भर्ना हुन चाहेकी थिइन् । उनले भनिन् , “यतिको लामो समयसम्म पनि निर्णय हुन नसक्नु लजास्पद हो, विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ, १ वर्ष समय खेर गयो, पढ्न पाउनुपर्ने अधिकार खोसियो ।’ करिब अढाई वर्षदेखि विवादित रहेको एलएलबी प्रथम वर्षको भर्नाको टुङ्गो नलाग्दा धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना आवेदन दिएका करिब ५ सय विद्यार्थीको भविष्य नै अन्यौलमा रहेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्र्तगत रहेको कानून संकायको डिन कार्यलयबाटै सूचना जारी गरी अनिश्चितकालका लागि भर्ना स्थगित गरिएको थियो । गुणस्तरीय शिक्षा प्रदान गर्न भन्दै डिन कार्यालयले कोटा प्रणाली लागु गरी भर्ना खोलेपछि एलएलबीको भर्नाको विवाद चुलिएको थियो । कार्यालयबाट तोकिएको कोटा संख्या कम भएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका थिए । माथिल्लो निकायबाटै बन्द गर्न निर्देशन आएकाले केही गर्न नसक्ने क्याम्पसका प्रमुख दामोदर भण्डारी बताउँछन् । एलएलबी अध्ययन हुने प्रदेशकै एक मात्र क्याम्पस भएकाले पनि विद्यार्थीको आवेदन उल्लेख्य रहेको उनले बताए । उनले भने, ‘भर्ना खोल्ने बन्द गर्ने विषयमा हाम्रो मातहतमा केही हँुदैन, यो माथि डिन कार्यालयबाटै स्थगित भएको हो, माथिबाट भर्ना खोल्नु भनेर जानकारी नआएसम्म केही पनि भूमिका हुन्न ।’

डिन कार्यालयले भर्ना खुलाउन गृहकार्य गरे चाँडै समस्या समाधान हुने उनले बताए । अहिले महेन्द्रमा तेस्रो ब्याचका विद्यार्थीहरु पासआउट भइसकेका छन् भने दोस्रो वर्षमा एक हजार एक सय विद्यार्थीहरु अध्ययनरत छन् । क्याम्पस प्रमुख भण्डारीले भने, हाम्रो क्षमता भनेको दुई सयको मात्र छ, हामीसँग कक्षा कोठाको समेत समस्या छ, पहिले चार जना शिक्षक हुनुहुन्थ्यो अहिले तीन जना मात्र हुनुहुन्छ ।’ उता कानून संकायका डिन विजयसिंह सिजापतिले विद्यार्थी संगठनहरुकै कारण प्रवेश परीक्षा बन्द गरिएको बताए । उनले भने, ‘विद्यार्थी सगठनले नमानेर रोकिएको हो, भर्नाको लागि इन्ट्रान्स परीक्षाको लागि सूचना दिए पनि विद्यार्थी संगठनहरुले सोझै भर्ना लिनुस भन्ने दाबी गरे, त्यो हुन सक्दैन । क्याम्पसले जति सिटमा पढाउन सक्छौँ भनेका छन् त्यही हिसाबमा त्यो परीक्षा मेरिट बेसिसमा हुन्छ ।’

भर्ना खुल्ने समय अझै टुङ्गो नलागेको उनले बताए । उनका अनुसार सर्वोच्च अदालतले नै प्रवेश परीक्षा लिएर क्याम्पसको क्षमता अनुसार भर्ना लिन भनेको छ । विश्वविद्यालयका उपकुलपतिले पनि एउटा समिति गठन गरेर केही संख्या बढाएका छन् । उनले भने, ‘त्यो पत्र आएपछि त्यसलाई लागु गर्नुभन्दा पहिला विद्यार्थी संगठनका नेताहरुलाई बोलाएर छलफल चलाउँछौं, उनीहरुले अझै विरोध गरे भने चल्नै सक्दैन एलएलबी बन्द हुन्छ ।’कोशीपत्र दैनिकबाट