इटहरीः बेलायतमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ ।
विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै अजेन लिम्बूले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियरस् अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता जितेको हो । बेलायतको प्लाइमोथ विश्वविद्यालयमा सिभिल इञ्जिनियरिङको मास्टर्स तहको अन्तिम वर्षमा अध्ययनरत हुँदा २५ वर्षीय अजेन लिम्बू र उनको समूहले बनाएको डिजाइन उत्कृष्ट भएको विश्वविद्यालयले आफ्नो वेबसाइटमार्फत् जनाएको छ । ‘आवेदकहरूलाई गुरुत्वाकर्षणको उपस्थितिमा सौर्यमण्डलको ग्रहहरूको अन्वेषण गर्न सहज हुनेगरी अन्तरिक्ष केन्द्र निर्माणका लागि संरचनाको नुना तयार गर्न भनेका थियौँ,’ वेबसाइटमा सूचना तथा सञ्चार अधिकृत एलन विलियम्सले लेखेका छन्, ‘प्लाइमोथका तीन विद्यार्थीहरूले नासा र जापानिज एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीको सामग्री प्रयोग गरेर वायुयानको निर्माणमा विस्तृत खोज गरेका छन् ।’
सेल्सबरी निवासी लिम्बूले नेतृत्व गरेको समूहमा एलियट ट्याम र ज्याक ओर्मे पनि संलग्न रहेका थिए । नेपालको धरानमा घर भएका अजेन आफ्ना पूर्व ब्रिटिस गोर्खा सैनिक बुवा तेजकुमार थक्लुङ लिम्बू र आमा कमला सेन्दाङ लिम्बूसँगै पाँच वर्षको उमेर हुँदा बेलायत आएका थिए । धरानकै अरनिको स्कुलमा प्राथमिक तहमा पढेका उनले त्यसपछि बेलायतमै उच्च तहसम्मको अध्ययन पूरा गरेका थिए । ‘यो प्रतियोगिताले अन्तरिक्ष इञ्जिनियरिङको अद्भुत रहस्य नजिक पुग्न एकदमै उत्साहजनक अवसर दिएको छ,’ पुरस्कार जितेपछि लिम्बूले प्रतिक्रिया दिँदै भने । छात्रवृत्ति पाएर इञ्जिनियरिङ अध्ययन गरेका उनी अहिले एक प्रतिष्ठित संस्थामा कार्यरत छन् । दुई छोराहरूमध्ये आफ्नो कान्छा छोरा अजेनको उपलब्धिमा हौँसिदै नर्सिङ पेसामा आबद्ध आमा कमला सेन्दाङले भुतपपूर्व सैनिक परिवारका सन्तानहरूले पछिल्लो समय शैक्षिक क्षेत्रमा लोभलाग्दो प्रगति गरिरहेको बताइन् ।
सामाजिक सेवाका काममा पनि सक्रिय उनले अजेनको उपलब्धि नेपाली समुदायमा दुर्लभ भएको टिप्पणी गरिन् । भुतपूर्व ब्रिटिस गोर्खा सैनिक र तिनका सन्तानहरूले सन् २००९ मा आवासीय भिषाको अधिकार पाएपछि बेलायतमा नेपाली समुदायको आगमन तिव्र बनेको हो । यहाँ आएसँगै दोस्रो पुस्ताका सन्ततिहरूले उच्च शिक्षा हासिल गरेर विभिन्न क्षेत्रहरूमा आफ्नो प्रभाव कायम गरिरहेका छन् ।