जकार्ताः विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरूद्धको खोप आउन झण्डै एक वर्षसम्म लाग्न सक्ने जनाएको छ ।

संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सबैलाई ठाउँ ठाउँमा पुर्‍याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरूसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन् ।

`कतिपय देशहरूले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरू गर्न सकेका छैनन, उनीहरूले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ` उनले भने । उनले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए । स्वास्थ्यसम्वन्धी निकायहरूले सबैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् । सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ । -एजेन्सी