इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर सात लाख ७ हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यससँगै विश्वभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या सात करोड ५२ लाख ४७ हजारभन्दा बढी भएको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । २४ घण्टाभित्र विश्वभर १२ हजारभन्दा बढी मानिसले ज्यान गुमाएसँगै विश्वभर मृतक संक्रमितको कुल संख्या १६ लाख ७६ हजार पुगेको छ । हालसम्म विश्वका संक्रमितमध्ये पाँच करोड २८ लाखभन्दा बढी मानिस निको भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा दैनिक दुई लाख भन्दा बढी कोरोना सङ्क्रमित थपिरहेका छन् । पछिल्लो २४ घण्टामा पनि अमेरिकामा दुई लाख २० हजार सङ्क्रमित थपिएका छन् । सोही अवधीमा ३ हजार जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ७६ लाख १७ हजार पुगेको छ ।

यता, संक्रमणबाट बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा भने संक्रमण दर घटेको छ । केही दिन अघिसम्म दैनिक ५० हजार भन्दा बढी थपिने भारतमा पछिल्लो समय सङक्रमण दर घटेको हो । कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा २६ हजार कोरोना सङ्क्रमित थपिएका छन् । बुधबार १८ हजार र मंगलबार २६ हजार सङ्क्रमित थपिएका थिए । वल्डोमिटरको तथ्याङ्क अनुसार सङक्रमण दर घटेको भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ लाख ७७ हजार पुगेको छ । ती मध्ये एक लाख ४४ हजारको मृत्यु भएको छ । ९५ लाख २० हजार सङ्क्रमण मुक्त भएका छन् । तीन लाख १२ हजार सक्रिय सङ्क्रमित छन् ।