इटहरीः पछिल्लो २४ घण्टामा विश्वमा सात लाख ६ हजार कोरोना सङ्क्रमित थपिएका छन् ।

योसँगै विश्वमा सङ्क्रमितको सङ्ख्या सात करोड ५९ लाख ८१ हजार पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । २४ घण्टाकै अवधिमा विश्वका संक्रमितहरुमध्ये १२ हजार ७५६ जनाले ज्यान गुमाएका छन् । यससँगै हालसम्म विश्वभर मृतक संक्रमितको संख्या १६ लाख ८० हजार पुगेको वल्र्डोमिटरको तथ्याङ्क छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार जनामा संक्रमण पुष्टि भएको छ । यससँगै अमेरिकामा संक्रमितको कुल संख्या एक करोड ७८ लाख ८८ हजार तीन सय ५३ पुगेको छ । अमेरिकामा हालसम्म तीन लाख २० हजार आठ सय ४५ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकाभर एक करोड तीन लाख ९४ हजार दुई सय ८६ जना निको भएका छन् ।

संक्रमणबाट बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ । वोल्डोमिटरको तथ्याङ्क अनुसार भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ । सङ्क्रमित मध्ये एक लाख ४५ हजारको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा २६ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधीमा ३४२ जनाको मृत्यु भएको छ । भारतमा ९५ लाख ४९ हजार सङ्क्रमण मुक्त भएका छन् ।