इटहरीः विश्वमै झण्डै एक शैक्षिक सत्र कोरोना महामारीले प्रभावित पारेको छ । चीनको वुहान प्रान्तको हुवेईबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण अन्य क्षेत्रजस्तै शैक्षिक क्षेत्र पनि नराम्ररी थलियो । नेपालमा कोरोना महामारी फैलन नदिन गत वर्षको चैत्र ११ गतेबाट लकडाउन जारी भयो । तर, शैक्षिक संस्थाहरु त्योभन्दा अगाडि नै बन्द भइसकेका थिए । कोरोनाले विद्यालयको पढाइ मात्र होइन मुखैमा आएको माध्यमिक शिक्षा परिक्षा (एसइइ) पनि रोकियो । त्योसँंगै विश्वविद्यालय तथा अन्य ठाउँबाट सञ्चालन हुने शैक्षिक कार्यक्रम पनि प्रभावित बने ।
अहिले कोरोनाको प्रभाव केही कम भएको छ । रोकिएका परिक्षा धमाधम सञ्चालन भइरहेका छन् भने विद्यालय पनि धमाधम खुल्दै छन् । इटहरीमा पनि संस्थागत तथा समुदायिक विद्यालय र कलेजहरु खुल्न थालेका छन् । विद्यालय खुल्दा विद्यार्थी, अभिभावक र शिक्षक तीनै पक्ष उत्साहित हुनुका साथै कोरोना लाग्ने हो कि भनेर केही सर्तक बनेका छन् । इटहरीमा रहको ग्रिन पिस एकेडेमीका प्रधानाध्यापक रामकुमार राईले नेपालको शैक्षिक इतिहासमा परेको यो पहिलो लामो तथा नकारात्मक प्रभाव भएको बताएका छन् । उनले कोरोनापछि विद्यालय सञ्चालन गर्न नेपाल सरकारले जारी गरेको निर्देशिका अनुसार नै विद्यालयको पठनपाठन सुरु गरिएको जानकारी दिए । ‘इतिहासमै नभएको प्रभाव यो वर्ष अरु क्षेत्रजस्तै शिक्षा क्षेत्रलाई पनि परेको छ । ‘हामीले कोरोना महामारी रोकथाम गर्न सरकारले लागु गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै भर्चुअल रुपमा वैशाखबाट कक्षाहरु सञ्चालन गरेका थियौँ । अहिले कोरोनाको प्रभाव केही कम भएकाले सरकारले विद्यालय खोल्न निर्देशन गरेकाले हामीले पनि भौतिक कक्षा सञ्चालन गरेका छौँ । विद्यालयमा कोरोना जोखिम नहोस् भनेर हामीले विद्यार्थीहरुलाई स्कुल बसमा चढ्नुअगाडि स्यानिटाइजर लागाइदिने, विद्यालय प्रवेश गर्दा अनिर्वाय हात धुन लगाउने, ज्वरो नाप्ने, विद्यालयमा अनिवार्य मास्क प्रयोग गर्न लगाउने र कक्षा कोठामा पनि स्यान्टिाइजरको प्रयोग गर्ने कुरालाई पालना गरेका छौँ’, उनले भने । साथै उनले धेरै समयपछि विद्यालय आउन पाउँदा विद्यार्थीहरु उत्साहित बनेको जानकारी दिए ।
साथै उनले यो समयमा पनि आफ्नो विद्यालयमा सत प्रतिशत विद्यार्थीको उपस्थिति रहको जानकारी दिए । यस्तै इटहरीकै कबीर माध्यमिक विद्यालयकी प्रधानाध्यापिका मुना न्यौपानेले अहिलेको अवस्थामा विद्यालय खोल्नु एकदमै चुनौतिपूर्ण रहेको जानकारी दिइन् । उनले अब विद्यालय बन्द गरेर नहुने भन्दै सरकारले जारी गरेको मापदण्ड पूरा गरेर नै विद्यालय सञ्चालन गरेको बताइन् । ‘हामीजस्तो सरकारी विद्यालयलाई यो समयमा पठनपाठन गराउन एकदमै चुनौति छ । सरकारले हामीलाई मास्क, स्यानिटाइजरको लागि आवश्यक बजेट पनि दिएको छैन । तैपनि हामीले जोखिमलाई ध्यान दिएर स्वास्थ्य मापदण्ड पुरा गरेर नै विद्यालय सञ्चालन गरेका छौँ’, उनले भनिन् । उनका अनुसार कबिर माध्यमिक विद्यालयमा पनि पुरानै दरमा विद्यार्थीको उपस्थिति रहेको छ । विश्व आदर्श स्कुल इटहरीका सह–प्रधानाध्यापक मोहनप्रसाद निरौलाले विद्यालयमा भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपूर्व अविभावकसँग छलफल गरिएको बताए । उनले अभिभावककै सल्लाह तथा सुझावले विद्यालय सञ्चालन गरिएको जानकारी दिए । ‘हामीले विद्यालय सञ्चालन गर्नुपूर्व हाम्रा अभिभावकसँग कसरी कक्षा सञ्चालन गर्न सकिन्छ भनेर छलफल गरेका थियौँ । उहाँहरुकै सल्लाहका आधारमा हामीले विद्यालय सञ्चालन गरेका छौँ । कोरोना फैलन नदिन हामीकहाँ एक विद्यार्थी एक डेस्क बेन्चको व्यवस्था छ त्योसँगै हामी विद्यालय प्रवेश गराउनुपूर्व उनीहरुलाई अनिवार्य मास्कको प्रयोग र स्वास्थ्य जाँचलाई ध्यान दिएका छौँ’, उनले भने ।
विद्यार्थीहरु पनि लामो समयसम्म घर बसेपछि विद्यालय आउन पाउँदा खुसी देखिएका छन् । विद्यार्थीहरुले भर्चुअल रुपमा कक्षा भए पनि भौतिक रुपमा सञ्चालन गरेजस्तो नहुने भन्दै भौतिक रुपमा विद्यालय नै आएर पढ्न पाउँदा उत्साहित भएको बताएका छन् । साथै उनीहरुले कोरोना महामारी कम नभएकाले डर भने कायमै रहेको पनि बताएका छन् । विद्यालयहरुमा धमाधम पठनपाठन हुन थालेपछि इटहरी उपमहानगरले पनि अनुगमन सुरु गरेको छ । सरकारले विद्यालय पुनः सञ्चालनसम्बन्धी तयार गरको ढाँचा अनुसार आफ्ना कार्यक्रम गरेका छन् कि छैनन् भनेर उपमहानगरले अनुगमन गरेको उपमहानगरको शिक्षा महाशाखा प्रमुख अम्बिकाकुमारी साहले जानकारी दिइन् । उनले विद्यालय सञ्चालन गर्दा केही स्वास्थ्य मापदण्ड पूरा भएको र केहीमा कमी पाइएको जानकारी दिइन् । ‘विद्यालय खुल्न थालेपछि अवस्था कस्तो छ भनेर अनुगमन गरेका थियौँ । सबै विद्यालयमा हामी जान सकेनौँ । नमूनाका रुपमा केही विद्यालयमा गरिएको अनुगमनमा हामीले ती विद्यालयहरुमा सरकारले भनेको र लागु गरेको नियम पूरा गरेको पाएका छौँ । कहीँकतै विद्यार्थीहरुले चाहीँ मास्क नलाएको, गलत तरिकाले लगाएको पाएका छौँ । ती विद्यालयलाई हामीले सचेत गराएका पनि छौँ । पुनः हामी जाँदा त्यहाँको अवस्था फेरिएको रहेनछ भने कारबाही पनि गर्नेछौँ’, उनले भनिन् ।
साथै उनले उपमहानगरले पुनः इटहरीका सबै विद्यालयमा अनुगमन गर्ने पनि जानकारी दिइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कार्तिक २० गते मन्त्रिस्तरीय बैठकबाट स्वीकृत गरी विद्यालय सञ्चालन कार्यढाँचा २०७७ जारी गरेको छ । सोही ढाँचामा ७ वटा भौतिक कक्षा सञ्चालनको विकल्प दिएको थियो । सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलग अलग समयमा कक्षा सञ्चालन गर्ने, कक्षाको समयावधि कम गर्ने, तल्लो र माथिल्लो तहका विद्यार्थीलाई फरक फरक समयमा पढाउने, कुनै दिन एक कक्षा र कुनै दिन अर्को कक्षा सञ्चालन गर्ने, केही विद्यार्थीलाई एक दिन र केहीलाई अर्को दिन बोलाएर कक्षा सञ्चालन गर्ने र हप्तामा केही दिन र दिनमा केही घण्टा कक्षा सञ्चालन गर्ने मध्येका एक विकल्प विद्यालयले रोज्न पाउने भएका छन् । इटहरीका विद्यालयमा केही स्वास्थ्य मापदण्ड पूरा भएपनि बाँकी धेरै मापदण्ड पूरा नभएको पाइएको छ । विद्यालयमा कोरोना जोखिम कम गर्न सरोकारवाला सबैको ध्यान जानु जरुरी देखिन्छ ।