इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ७१ हजार जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै हालसम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या आठ करोड एक लाख ९३ हजार पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । सो वेबसाइटका अनुसार संक्रमितमध्ये पछिल्लो २४ घण्टामा मात्र विश्वभर आठ हजार तीन सय ७३ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै विश्वमा मृतक संक्रमितको कुल संख्या १७ लाख ५६ हजार पुगेको छ । हालसम्म विश्वभर पाँच करोड ६४ लाख ६० हजार मानिस संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म एक करोड ९२ लाख नौ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये अमेरिकाभर तीन लाख ३८ हजार जनाले ज्यान गुमाएका छन् । अमेरिकामा निको हुने संक्रमितको संख्या एक करोड १२ लाख ५७ हजार सात सय ११ रहेको छ । हाल अमेरिकामा ७६ लाख १४ हजार एक सय ९२ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणबाट बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा हालसम्म एक करोड एक लाख ६९ हजार आठ सय १८ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये हालसम्म ९७ लाख ३९ हजार तीन सय ८२ संक्रमित निको भएका छन् भने हालसम्म एक लाख ४७ हजार तीन सय ७९ जना संक्रमितको ज्यान गएको छ । हाल भारतभर दुई लाख ८३ हजार ५७ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचिमा तेस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म ७४ लाख ४८ हजार पाँच सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलका संक्रमितमध्ये एक लाख ९० हजार पाँच सय १५ जनाले ज्यान गुमाएका छन् भने ६४ लाख ५९ हजार तीन सय ३५ जना निको भएका छन् । हाल ब्राजिलमा सक्रिय संक्रमितको संख्या सात लाख ९८ हजार सात सय १० रहेको वल्र्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।