इटहरीः नोबेल कोरोना (कोभिड(१९) भाइरसको विकसित प्रजाति फेला परेपछि बेलायतमा यसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ ।
संक्रमणको द्रुत विस्तारका कारण बेलायतका अस्पतालहरुमा बिरामीको चाप महामारीयताकै सर्वाधिक उच्च विन्दुमा पुगेको छ । बेलायतका केही भागमा नयाँ प्रकृतिको भाइरस आक्रामक दरमा प्रसार भएपछि विद्यमान स्वास्थ्य प्रणाली निरिह बन्न पुगेको छ । कोरोना भाइरसको पहिलो लहर चरमोत्कर्षमा पुगेको अवस्थामा गत अप्रिलमा बेलायतको लण्डन एम्बुलेन्स सेवा (एलएएस) मा एम्बुलेन्स सेवाका लागि प्राप्त भएका कलभन्दा बढी कल आएको थियो । सो दिन करिब अठार हजार जनाले एम्बुलेन्स उपलब्ध गराउन आग्रह गर्दै सम्पर्क गरेको लण्डन एम्बुलेन्स सेवाको तथ्याङ्क रहेको छ ।
सो दिन अस्पतालमा शैय्या अभावका कारण धेरै बिरामीलाई एम्बुलेन्समै उपचार सेवा प्रवाह गरिएको सो संस्थाको तथ्याङ्क छ । नयाँ भाइरसको पहिचानपछि बेलायतमा दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या दुई हजारभन्दा बढी रहेको छ । बेलायतको स्वास्थ्य सेवा विभाग नेसनल हेल्थ सर्भिसको तथ्याङ्क अनुसार बेलायतमा २२ डिसेम्बरसम्म कुल २१ हजार दुई ८६ जना अस्पताल भर्ना भएका छन् । हिजो बेलायतमा तीस हजार पाँच सय एक जना नयाँ कोरोना संक्रमितको पहिचान भई १६ जनाको ज्यान गएको थियो ।