इटहरीः गत वर्ष चीनको वुहान प्रान्तबाट सुरु भई विश्वव्यापी महामारीका रुपमा कोरोना भाइरस फैलिएयता विश्वका आठ करोड १६ लाख छ हजार चार सय ५८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र विश्वभर चार लाख ३२ हजार पाँच सय ८५ जना नयाँ संक्रमितको पहिचान भएको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा आठ हजार तीन सय ४७ जनाले ज्यान गुमाएपछि मृतक सङ्क्रमितको संख्या १७ लाख ८० हजार दुई सय १८ पुगेको छ । हालसम्म विश्वभर पाँच करोड ७६ लाख ९७ हजार चार सय ९९ जना संक्रमित निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या दुई करोड २१ लाख २८ हजार सात सय ४१ रहेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार सात सय ९१ जना नयाँ संक्रमितको पहिचान भएसँगै संक्रमितको कुल संख्या एक करोड ९७ लाख ४० हजार एक सय १९ पुगेको छ । सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा एक हजार छ सय २४ जनाले ज्यान गुमाएपछि अमेरिकाभर मृतक संक्रमितको कुल संख्या तीन लाख ४२ हजार आठ सय ४० पुगेको छ । अमेरिकामा हालसम्म एक करोड १६ लाख २७ हजार पाँच सय ५१ जना संक्रमित निको भएका छन् । हाल अमेरिकामा ७७ लाख ६९ हजार सात सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको मुलुक भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ७२ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै भारतमा संक्रमितको कुल संख्या एक करोड दुई लाख २४ हजार सात सय ९७ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा दुई सय ५० जनाले ज्यान गुमाएसँगै भारतमा मृतक संक्रमितको संख्या एक लाख ४८ हजार एक सय ९० पुगेको छ । भारतमा हालसम्म ९८ लाख छ हजार सात सय ६७ संक्रमितले कोरोनालाई परास्त गरेका छन् । हाल भारतमा दुई लाख ६९ हजार आठ सय ४० जना सक्रिय संक्रमितहरु रहेका छन् ।

यसैगरी, संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टामा २२ हजार छ सय पाँच जना नयाँ संक्रमितको पहिचान भएको छ । यसका साथै ब्राजिलमा संक्रमितको कुल संख्या ७५ लाख छ हजार आठ सय ९० पुगेको छ । ब्राजिलभर पछिल्लो २४ घण्टामा चार सय ९५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै मृतक संक्रमितको कुल संख्या एक लाख ९१ हजार छ सय ४१ पुगेको छ । हालसम्म ब्राजिलमा ६५ लाख ६८ हजार आठ सय ९८ जना संक्रमित निको भएका छन् । हाल ब्राजिलमा सक्रिय संक्रमितको संख्या सात लाख ४६ हजार तीन सय ५१ रहेको वल्र्डोमिटरले जनाएको छ ।