कोभिड–१९ विरुद्धको खोप प्रयोगमा ल्याउने मुलुकको संख्या मंगलबारसम्म २१ पुगेको छ । विकसित मुलुकहरुसँगै खोपको ट्रायल भएका मुलुकहरुमा समेत खोप वितरण सुरु गरिएको छ ।
डिसेम्बर अन्तिम सातासम्म अमेरिकाले उत्पादन गरेको फाइजर र रुसले उत्पादन गरेको स्पुतनिक भी र चीनको सिनोफार्म खोप प्रयोगमा आएका छन् । अन्य १३ ओटा परीक्षणको अन्तिम चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यी हुन् खोप दिइरहेका मुलुकहरु
बेलायतः बेलायतमा १० डिसेम्बरदेखि फाइजर बायोएनटेक खोप दिन सुरु गरिएको थियो । योसँगै बेलायत कोरोनाविरुद्धको खोप दिने पहिलो मुलुक पनि बनेको थियो । बेलायतमा विभिन्न १४ सहरमा एकैपटक खोप अभियान सुरु गरिएको थियो । त्यहाँको सरकारले पहिलो चरणमा ३० लाख डोज खोप भण्डारण गरेको थियो ।
यूएईः संयुक्त अरब इमिरेट्स ९युएई०मा १४ डिसेम्बरबाट खोप दिन सुरु गरिएको थियो । चीनको सिनोफार्म खोप यूएईको अबुधाबी र बहराइनमा ट्रायल गरिएको थियो । यूएईले सिनोफार्मलाई मान्यता दिएर आफ्ना नागरिकलाई वितरण कार्य सुरु गरेको हो । योसँगै यूएईले फाइजर र सिनोफार्म दुवै खोप वितरण गर्दै आएको छ ।
बहराइनः बहराइनले १३ डिसेम्बरबाट सिनोफार्म खोपलाई मान्यता दिएको थियो । त्यसयता बहराइनका नागरिकलाई सिनोफार्म र फाइजर खोप दिइँदै आएको छ ।
अमेरिकाः अमेरिकामा १४ डिसेम्बरमा नै फाइजर खोप दिन सुरु गरिएको छ । अमेरिकाका ५० ओटा राज्यमा एकैपटक खोप लन्च गरिएको थियो । अमेरिकामा मास क्याम्पियनअन्तर्गत् पहिलो चरणमा तीन लाख मानिसलाई खोप दिइएको थियो ।
साउदी अरबः साउदी अरबमा १७ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो । खोपका लागि दैनिक एक लाख ५० हजारको नाम दर्ता भएको थियो ।
इजरायलः इजरायलले २३ डिसेम्बरबाट फाइजर खोप दिन थाल्यो । इजरायालमा पहिलो चरणमा तीन लाख १३ हजार डोज खोप दिइएको थियो । डिसेम्बर अन्तिमसम्म ३८ लाख नागरिकलाई खोप दिने इजरायल सरकारको योजना छ ।
कतारः कतारमा २१ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो । कतारमा खोप सुरु गर्दासम्म एक लाख ४१ हजार ८५८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मेक्सिकोः मेक्सिकोमा २४ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो । मेक्सिको विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत् पनि सूचीकृत छ । यसअघि नै मेक्सिकोले आफ्ना नागरिकका लागि फाइजर खोप सुरु गरेको हो ।
कुवेतः कुवेतमा २४ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको छ । कुवेतमा पहिलो चरणमा एक लाख ५० हजार डोज आयात गरिएको थियो ।
ओमनः ओमनमा २७ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको थियो । ओमन सरकारले आफ्ना नागरिकलाई प्राथमिक तहबाट नै खोप वितरण सुरु गरेको छ ।
बेल्जियमः बेल्जियममा पनि २७ डिसेम्बरबाट फइजरको खोप दिन सुरु गरिएको थियो । जनवरीको पहिलो साताभित्र १० हजार नागरिकलाई खोप दिने बेल्जियम सरकारको योजना रहेको छ ।
आइल्यान्डः आइल्यान्डमा २८ डिसेम्बरबाट फाइजर खोप दिन सुरु गरिएको छ । त्यहाँ पहिलो चरणमा १० हजार डोज खोप आयात गरिएको थियो ।
क्यानडाः क्यानडामा कोरोनाविरुद्धको मोर्डना खोपको पहिलो ट्रायल १४ डिसेम्बरमा भएको थियो । त्यहाँ अहिले फाइजरको खोप वितरण गरिँदै छ । फाइजर र मोर्डना गरी जनवरीको पहिलो सातासम्म १२ लाख डोज खोप दिने क्यानडा सरकारको योजना रहेको छ ।
चिलीः चिलीमा भारत र अष्ट्रेलियाको संयुक्त शेरम कम्पनीको अष्ट्राजेनिका खोप ट्रायल भएको थियो । चिलीमा यही खोप २४ डिसेम्बरबाट दिन सुरु गरिएको छ ।
रुसः रुसले आफ्ना नागरिकलाई रुसी उत्पादन स्पुतानिक भी खोप दिँदै आएको छ । पहिलो चरणमा १३ लाख जनतालाई दिने लक्ष्य राखेको रुसले सन् २०२० को अन्त्यसमम २० लाख डोज उत्पादन गर्ने लक्ष्य लिएको छ ।
स्वीट्जरल्यान्डः स्वीट्जरल्यान्डले २३ डिसेम्बरदेखि फाइजरको खोप दिन सुरु गरेको छ । १० लाख ७० हजार डोजबाट सुरु गरेको स्वीट्जरल्यान्डले पहिलो चरणमा नै ३० लाख डोज खोप आयात गरेको थियो ।
कोस्टारिकाः कोस्टारिकामा २४ डिसेम्बरदेखि खोप दिन सुरु गरिएको छ । त्यहाँ पहिलो चरणमा २१ हजार डोज फाइजर खोप आयात गरिएको थियो ।
हंगेरीः हंगेरीमा २६ डिसेम्बरदेखि फाइजरको खोप दिन सुरु गरिएको थियो । हंगेरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममा समेत समेटिएको छ ।
क्रोएसियाः क्रोएसियाले पनि आफ्ना नागरिकलाई फाइजरको खोप दिइरहेको छ । त्यहाँ २६ डिसेम्बरबाट नै खोप दिन सुरु गरिएको हो ।
स्लोभाकियाः स्लोभाकियामा पनि २६ डिसेम्बरदेखि फाइजरको खोप दिन सुरु गरिएको थियो । त्यहाँ पहिलो चरणमा २० लाख ४४ हजार डोज दिइँदै छ । स्लोभाकिया सरकाले आफ्ना नागरिकलाई निःशुल्क खोप वितरण गर्दै छ ।
जर्मनीः जर्मनीमा २६ डिसेम्बरबाट फाइजरको खोप दिन सुरु गरिएको छ । त्यहाँ १६ राज्यमा एकैपटक खोप वितरण सुरु गरिएको थियो । जर्मन सरकारले पहिलो चरणमा नै ६० लाख नागरिकलाई पुग्नेगरी खोप आयात गरेको थियो । -एजेन्सी