इटहरीः सोसाइटि अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा बेलायतमा आयोजित कोभिड १९ कोरोना भाइरससम्बन्धी वक्तित्वकला प्रतियोगितामा सोही राज्यको ग्लास्गो शहर निवासी मनिषा कँडेलले दोस्रो स्थान प्राप्त गरेकी छन् ।

बेलायतभरका १३ देखि १९ वर्ष अमेर समूहका २७ जना किशोरकिशोरीहरुले प्रतिस्पर्धा गरेको प्रतियोगितामा उनले दोस्रो स्थान पाएकी हुन् । सो प्रतियोगितामा डा.विभा सिम्खडा, बीबीसी सम्वाददाता नविनसिंह खड्का र एनआरएन आईसीसी ए सदस्य भक्त गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था साउथसाइड कम्युनिटि ग्लासगोका अध्यक्ष रामप्रसाद कँडेलका अनुसार बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाली भाषामा आयोजित वकृत्वकला प्रतियोगिताका विजेताले दुई सय पाउन्ड, उपविजेताले एक सय ५० पाउन्ड र तेस्रो स्थानमा रहने प्रतियोगीले एक सय पाउन्ड स्टर्लिङ डलर पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रम गत डिसेम्बर ३१ मा  सम्पन्न भएको थियो । दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा साउथसाइड कम्युनिटि ग्लासगोका अध्यक्ष रामप्रसाद कँडेल र सचिव केवल पोख्र्रेलले मनिषालाई बधाइ तथा शुभकामना दिएका छन् ।