इटहरीः प्रत्येक वर्ष सौरमास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । प्रदेश १ मा पनि बिहानै नदी तलाउमा गएर स्नान गरेर मकर संक्रान्ति मनाइएको छ । प्रदेश १ का विभिन्न प्रसिद्ध नदी, खोला तथा ताल तलाउमा बिहानै मानिसहरुले स्नान गरेका थिए । कोरोना महामारीले यो वर्ष धुमधामका साथ मकर संक्रान्ति भने मनाउन पाइएन । गत वर्षहरुमा सुनसरीको वृद्ध गंगा (बुढी गंगा) र कौशिकी (कोशी) नदीमा हजारौँको संख्यामा स्नान गर्न आउनेको भीड लाग्थ्यो ।

तर, यो वर्ष भन्ने स्नान गर्नेको चाप कम देखिएको छ । इटहरीको बुढी खोलामा पनि बिहानैबाट स्नान गर्नेको भीड लाग्ने गरेकोमा यो वर्ष खासै मानिसहरु गएका छैनन् । गत वर्षहरुमा चताराधामका कैशिकी (कोशी) नदीमा स्नान गरेर मकर संक्रान्ति मनाएका जगद्गुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराजले यो वर्ष बुढी खोलामा स्नान गरेका छन् । उनीसँगै इटहरी आसपासका मानिसहरु पनि स्नानमा सरिक भएका थिए । उनले माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जाने जानकारी दिए । उनका अनुसार आजको दिनबाट पानीको महत्व झन् बढ्ने भएकाले मकर संक्रान्तिलाई विशेष रुपमा लिइने गरिन्छ । उनले पहिला सूर्य हाम्रो काँधमा पर्ने भएकाले जाडो हुने र आजका दिनबाट सूर्य हाम्रो तालुमा पर्ने भएकाले मकर संक्रान्तिको महत्व रहेको जानकारी दिए ।

IMG_20210114_105510_903