बेइजिङः चीनमा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको छ ।

पछिल्लो आठ महिनायता कोरोनाका कारण चीनमा भएको यो पहिलो मानवीय क्षति हो । बिहीबार चीनले कोरोनाबाट थप एक जनाको ज्यान गएको पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूले मृतकको विस्तृत विवरण खुलाएका छैनन्। उनी हेबेई प्रान्तका भएको बताइएको छ । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन दर्जनौं संक्रमित भेटिएपछि त्यहाँ लकडाउन गरिएको छ । बिहीबार चीनमा एकैदिन १३८ जना संक्रमित भेटिएका छन् । गत वर्षको मार्चपछि एकैदिन यति धेरै मानिसमा संक्रमण भएको यो पहिलो पटक हो ।

गत वर्ष कोरोना भाइरसको सुरू चीनको वुहानबाट भएको थियो । सुरूमा वुहानमा महामारीको रूपमा फैलिएको भाइरसलाई चीनले पछि कडा लकडाउन र अरू मापदण्ड अपनाएर नियन्त्रणमा लिएको थियो । चीनमा अहिलेसम्म ८७ हजार सात सय मानिसलाई कोरोना संक्रमण भएको छ भने ४ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ । यसैबीच कोरोना भाइरसको उत्पतिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएओ) टोली आज चीन जाँदै छ । यसअघि चीनले उक्त टोलीलाई अवरोध गरेको थियो । डब्लुएचओको टोलीलाई वुहान जान दिइन्छ कि दिइँदैन भन्नेबारे अन्यौल कायमै रहेको छ । -एजेन्सी