काठमाडौंः कोभिड– १९ महामारीपछि पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन स्वास्थ्य सुरक्षा मापदण्डसम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ ।

पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले जिआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो । संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र कार्यदलका संयोजक तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुरक्षा प्रोटोकलको प्रशिक्षण–प्रशिक्षक तालिम म्यानुअल सार्वजनिक गरे । यस परियोजनाले कोभिड–१९ पछि नेपाल सरकारद्वारा लागू गरिएको पर्यटनसँग सम्बन्धित सेवा प्रदायकका लागि सेवा तथा व्यवसाय सञ्चालनमा राख्न स्वीकृत मापदण्डमा आधारित पर्यटन र आतिथ्य सत्कार सेवा व्यवसाय सञ्चालकका लागि सुरक्षा मापदण्ड बनाउने लक्ष्य राखेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका छनोटमा परेका ११ नगरपालिकामा प्रशिक्षक (स्थानीय चैम्पियन्स) विकास गर्ने लक्ष्य राखेर स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षण सामग्री र मार्गदर्शन तयार पारिएको हो । डा. स्टेफेन रोसेकले कोभिड–१९ विश्वव्यापी स्वास्थ्य संकट मात्र नभई आर्थिक संकटसमेत भएको र यसबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउँदै यस क्षेत्रको पुनर्वहालीका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डले प्रभावकारी भूमिका खेल्ने बताए । उनले जर्मन सहयोग संस्था जिआइजेडले नेपालको आर्थिक विकाससम्बन्धी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको र पर्यटनको विकासमा पनि जर्मन सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

डा. रसेकले प्रोटोकलले नेपालको पश्चिमी भागको पर्यटन र आतिथ्य क्षेत्रको सेवाको गुणस्तर र मापदण्ड वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । संयोजक जोशीले कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन व्यवसायी र सरोकारवालाबीच गरिएको सर्वेक्षणमा ८५ प्रतिशत साना तथा मझौला व्यवसायीले तालिम, शिक्षा र सचेतना कार्यक्रमको खाँचो औँल्याएको जानकारी दिए। उनले सोही सर्वेक्षणका आधारमा पहिलो चरणको स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्डसम्बन्धी तालीम सञ्चालन गर्न लागिएको बताए । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका कोषाध्यक्ष खेम लकाइले स्थानीय तहमा प्रशिक्षक निर्माण गर्दा स्थानीयस्तरमा चाहिएको परिवर्तनलाई सहयोग र पैरवी गर्ने अवसर सिर्जना हुने बताए । निर्देशिकाकी सम्पादक अञ्जना खड्काले परियोजनाको अपेक्षित नतिजाको बारेमा जानकारी दिइन् ।

परियोजना संयोजक विवेक पौडेलले कार्यक्रमको पहिलो चरणपछि प्रशिक्षित व्यवसायीले प्रत्येक नगरपालिकामा २५० सेवा प्रदायकलाई थप प्रशिक्षण प्रदान गर्ने जानकारी दिए । यसरी पश्चिम नेपालमा कुल दुई हजार ७५० सेवा प्रदायक स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रशिक्षित जनशक्ति तयार हुने उनले बताए । -रासस