बेइजिङः चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा १ हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ ।
हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका हुन् । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु देखिन थालेकोले यसका लागि ती स्थानहरुमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो।चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीहरुले छ हजार ५०० वटा कोठा बनाउने योजना रहेको बताएका छन्। ती मध्येका १ हजार ५०० वटा कोठा गएको पाँच दिनमा नै निर्माण गरि सकिएको यहाँका स्थानीय अधिकारीहरुले जानकारी गराएका छन् । आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठाहरु प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ । ती सबै कोठाहरुमा सौचालय र बाथरुम, हिटर, बेड तथा टप बाथ समेत रहेका ती अधिकारीले जानकारी गराए ।
उनका अनुसार सो क्षेत्रमा नै वाइफाइको पनि व्यवस्था गरिएको छ । हेबेइ प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमितहरु भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ । केही दिनयतादेखि चीनका कतिपय सहरहरुमा कोरोना भाइरसका संक्रमितहरु भेटिएका समाचारहरु आइरहेका छन् । सोही कारणले ती सहरका विभिन्न स्थानमा चीनका स्थानीय अधिकारीहरुले यस्ता आइसोलेसन सेन्टरहरु बनाउन थालेका पनि समाचारमा जनाइएको छ । चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि यहाँका स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गरेका छन् । उनले आफूले दुई सिफ्टमा गरी ३०० जना कामदारलाई लगाएर पाँच दिनको बीचमा १ हजार ५०० वटा आइसोलेसन कोठाहरु निर्माण गरेको बताए । उनले सो क्षेत्रमा मात्र ६ हजार ५०० वटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने बताए । -रासस