इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ४५ हजार तीन सय ४६ जना नयाँ कोरोना सङ्क्रमितको पहिचान भएको छ ।

यससँगै सङ्क्रमितको कुल सङ्ख्या नौ करोड ५९ लाख ६४ हजार सात सय ५५ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ हजार सात सय १९ जनाको ज्यान गएसँगै जम्मा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २० लाख ४८ हजार एक सय ५० पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म विश्वभर छ करोड ८५ लाख १५ हजार सात सय ७० जना निको भएका छन् । हाल विश्वमा सक्रिय संक्रमितको संख्या दुई करोड ५४ लाख आठ सय ३५ रहेको छ ।

विश्वमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख २५ हजार तीन सय ५८ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै हालसम्म अमेरिकामा दुई करोड ४६ लाख नौ हजार सात सय १२ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा अमेरिकाभर एक हजार दुई सय ७२ जनाले ज्यान गुमाएसँगै मृतक सङ्क्रमितको कुल सङ्ख्या चार लाख आठ हजार चार सय ७० पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म एक करोड ४५ लाख छ हजार नौ सय ८८ जना निको भएका छन् । हाल अमेरिकामा ९६ लाख ९४ हजार दुई सय ५४ जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा नौ हजार नौ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै भारतमा हालसम्म एक करोड पाँच लाख ८२ हजार छ सय ४७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भारतका एक सय ३७ संक्रमितको ज्यान गएपछि मृतक संक्रमितको कुल संख्या एक लाख ५२ हजार पाँच सय ९३ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड दुई लाख २७ हजार आठ सय ५२ जना निको भएका छन् । हाल भारतमा दुई लाख दुई हजार दुई सय दुई जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, संक्रमणबाट अतिप्रभावित मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको राष्ट्र ब्राजिलमा २४ घण्टाको अवधिमा २३ हजार छ सय ७१ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या ८५ लाख ११ हजार सात सय ७० पुगेको छ । २४ घण्टाभित्र चार सय ३१ जनाले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या दुई लाख १० हजार दुई सय ९९ पुगेको छ । सङ्क्रमितमध्ये ७४ लाख ११ हजार छ सय ५४ जना निको भएका छन् । हाल ब्राजिलमा आठ लाख ८९ हजार आठ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।