इलामः पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको देखिएको छ ।
कोरोना भाइरसका कारण विगतका वर्षमा संस्थागत विद्यालयमा पढिरहेका बालबालिका सामुदायिक विद्यालयमा तानिएका छन् । निजी विद्यालयमा पूरै शैक्षिक सत्रको र अतिरिक्त प्रयोगमार्फत पठनपाठनको शुल्क तिर्नुपर्ने सम्भावना देखेपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना भएका हुन् । शैक्षिक सत्र सधैँ वैशाखबाट शुरु हुन्थ्यो तर यसपटक कोरोनाका कारण दसैँपछि मात्र विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन गराउन थाले । बन्दाबन्दीपछि केही विद्यालयले वैकल्पिक विधिबाट समेत पढाउन थाले । निजी विद्यालयले पूरै शैक्षिक सत्रको शुल्क तिराउने बुझेपछि बच्चालाई सामुदायिक विद्यालयमा लगेको इलाम सदरमुकाममा बसोबास गर्ने एक विद्यार्थीका अभिभावकले बताए ।
विगतका वर्षमा निजी विद्यालयमा बच्चा पढाइरहेका ती व्यक्तिले पुरानो विद्यालयले वैकल्पिक माध्यमबाट पढाउँदाको शुल्कसाथै अन्य शुल्क तिराउने बताएको थियो । ‘कात्तिकपछि त के पढाइ हुन्छ र ? बोर्डिङले पनि बोलाएको हो तर शुल्क तिर्न नसकिने भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेँ,’ नाम नखुलाउने सर्तमा ती अभिभावकले भने, ‘आखिर पढाइ उस्तै जस्तो लाग्यो । अनि सदरमुकामकै निजी विद्यालय छोडाएको हो ।’ सदाजस्तो विद्यालयले यस वर्ष भर्ना अभियानले गराउन पाएनन् । विगतका वर्षमा अभिभावकको घरघर पुगेर विद्यार्थी भर्ना अभियान चलाउने सामुदायिक विद्यालयका शिक्षक अभियानै नचलाउँदा पनि विद्यार्थी आएको बताउँछन् ।
विगतको तुलनामा झण्डै ३० प्रतिशत विद्यार्थी बढेको सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयका शिक्षक शिरोमणि भट्टराईले बताए । ‘विद्यार्थी बढे पनि विद्यालयमा स्रोत साधन व्यवस्थापनमा समस्या छ । जति पनि भर्ना गराउनैपर्ने बाध्यता छ,’ भट्टराईले भने । आदर्शमा मात्रै होइन, समग्र जिल्लाका सबै सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ तर आधिकारिक तथ्याङ्क कसैसँग छैन । संस्थागत विद्यालयमा यस वर्ष विद्यार्थी घटेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामका अध्यक्ष विकास कर्माचार्यले स्वीकार गरे । उनका अनुसार आफ्नो अपेक्षाभन्दा बढी विद्यार्थी संस्थागत विद्यालय आए पनि विगतमा भन्दा केही सङ्ख्यामा घटेको हो ।
‘हामीले यस वर्ष करिब ५० प्रतिशत विद्यार्थी मात्रै भर्ना हुन्छन् भन्ने अनुमान गरेका थियौँ तर करिब ९० प्रतिशतको हाराहारीमा विद्यार्थी फर्किए,’ कर्माचार्यले भने । सरकारी विद्यालयमा विद्यार्थी पढाउँदा छात्रवृत्ति पाउने, उच्च शिक्षामा विभिन्न अवसरमा सामेल हुन पाइने आश्वासनले पनि माथिल्ला कक्षामा संस्थागत विद्यालय छाड्ने गरेको कर्मचार्यको भनाइ छ । विद्यालयको तल्लो तहमा संस्थागत विद्यालयमा विद्यार्थी आकर्षित देखिए पनि माथिल्लो तहमा समेत सामुदायिक विद्यालयतर्फ नै कन्द्रित हुने गरेका छन् । कम शुल्कमा पठनपाठन हुने र पुस्तकको निःशुल्क व्यवस्था हुने भएकाले पनि सामुदायिक विद्यालयमा विद्यार्थी बढ्ने गरेका हुन् । -रासस