इटहरीः आज देशभर कोराना भाइरस विरुद्धको खोप कोभिसिल्ड भ्याक्सिन लगाइँदै छ । सुनसरीका चारसहित देशभर एक सय २० केन्द्रबाट खोप अभियान सुरु भएको हो । सरकारले प्राथामिकता निर्धारण गरेर खोप अभियान सुरु गरेको छ । पहिलो प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा काम गर्ने सहयोगी कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविका, सफाइ कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, कोभिडबाट मृत्यु भएका शव व्यवस्थापनमा खटिने व्यक्ति र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीलाई राखेको छ । सरकारको यही प्राथामिकतालाई ध्यानमा राखेर सुनसरीको इटहरीमा पनि आजै खोप अभियान प्रारम्भ भएको छ ।

इटहरी अस्पतालका इमर्जेन्सी शाखा प्रमुख रामकुमार धमलाले सुनसरीमा पाँच हजारभन्दा बढीलाई कोरोना विरुद्धको खोप लगाइने जानकारी दिए । विशेषगरी सुनसरीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई इटहरी अस्पताल, इनरुवा अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर अस्पताल धरानबाट खोप दिइने उनको भनाइ छ । ‘हामीले आज एकैपटक सुनसरीको चार ठाउँबाट कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गरेका छौँ । नेपालमा १० लाख डोज खोप उपलब्ध भएकोमा पहिलो चरणमा पाँच लाख डोज खोप दिँदै छौँ । त्यसमध्ये सुनसरीमा मात्र पाँच हजार जनालाई कोरोना विरुद्धको खोप नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले उपलब्ध गराएको छ । इटहरीमा हामी तीन सयभन्दा धेरैलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा खोप दिने छौँ’ उनले भने ।

साथै उनले कोरोना पोजिटिभ देखिएर उपचाररत व्यक्ति, दीर्घरोगी, १८ वर्षभन्दा मुनिका बालबालिका, सुत्केरी र गर्भवति महिलाहरुलाई यो खोप दिन नहुने जानकारी दिए । इटहरीमा पहिलो खोप पकली स्वास्थ्य चौकीका इन्चार्ज हरिप्रसाद गौतमलाई लगाइएको छ । उनले सामाजिक सञ्जाल र समाचारहरुमा कोरोना खोपका विषयमा विभिन्न कुरा आए पनि त्यसको प्रवाह नगरी खोप लगाएको जानकारी दिए । उनले यो खोप लगाएपछि आफूलाई कुनै नकारात्मक प्रभाव नदेखिएको बताए । यस्त,ै इटहरी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट पूजा भट्टराईले सरकारले तोकेको मापदण्ड अनुसार नै खोप लगाएकाले कुनै नकारात्मक प्रभाव नदेखिने आशा रहेको जानकारी दिइन् । आधा घण्टासम्म कुनै खोपले ‘साइड इफेक्ट’ नगरे त्यसले सफलतापूर्वक काम गरेको मान्न सकिने उनको भनाइ छ ।

उनीहरुजस्तै इटहरीमा कोरोना खोप लगाउने सबै जनाले नै कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाउँदा कुनै नकरात्मक प्रभाव नदेखिएको बताएका छन् । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले सरकारले तोकेको मापदण्ड अनुसार नै खोप लगाइएको जानकारी दिइन् । कोरोनाबाट स्वास्थ्यकर्मी सुरक्षित भए मात्र अरुलाई कोरोना विरुद्धको खोप लगाउन सकिने भएकाले सरकारले स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेको गौतमको भनाइ छ । ‘कोरोना विरुद्धको खोप इटहरीमा हामीले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै लगाएका छौँ । अहिले हामी ‘फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी र लक्षित वर्गलाई यो खोप लगाउँदै छौँ । स्वास्थ्यकर्मी सुरक्षित भए मात्र हामीले अरुलाई यो खोप उपलब्ध गराउन सक्छौँ त्यसैले हामीले उहाँहरुलाई पहिलो प्राथमिकतामा राखेका छौँ । सर्वसाधारणसम्म यो खोपको पहुँच पुग्न केही समय लाग्छ । किनभने नेपाल सरकारले नै मापदण्ड निर्धारण गरेको छ । त्यसैले केही समयपछि हामी इटहरीवासी सबैलाई प्राथमिकताका आधारमा यो खोप लगाउने छौँ’ उनले भनिन् ।

नेपालमा पहिलो पटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । खोप फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक र शव व्यवस्थापनमा खटिने व्यक्तिलाई दिइने छ ।