वासिङ्टन डीसीः अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोभिड नोभ्याक्सिनको प्रभावकारीता ८९ प्रतिशत रहेको दाबी गरेको छ ।

संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएको छ । परीक्षणमा सहभागी एक चौथाई भन्दा धेरै सर्वसाधारण ६५ वर्ष उमेर माथिका रहेको बीबीसीले उल्लेख गरेको छ । बेलायतबाट सुरु भएको भनिएको संक्रमण तीव्र हुने नयाँ स्वरुपको भाइरस फैलिइरहेका बेला यस्तो परीक्षण गरिएको हो । यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ । अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकामा देखा परेको नयाँ स्वरुपको भाइरसको संक्रमण अझै तिव्र रहेको छ । बेलायतका प्रधानन्त्री बोरिस जोनसनले कोराना खोपसम्बन्धी नयाँ परीक्षण सुखद समाचार भएको भन्दै स्वागत गरेका छन् । उनले अब त्यसलाई आफ्नो देशको स्वास्थ्य नियामकले जाँच्ने पनि बताएका छन् ।

बेलायतले आफ्नै देशको स्टकटन–अन–टिज शहरमा उत्पादन गरिने यस खोपको ६ करोड मात्रा सुनिश्चित गरिसकेको छ । नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ । अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो । तेस्रो चरणको परीक्षणका बेला सहभागिमा यो कोभिड–१९ बाट जोगाउनका लागि ८९ दशमलव ३ प्रतिशत प्रभावकारी देखिएको थियो । -एजेन्सी