बेलायतमा पत्ता लागेको नयाँ स्वरुपको कोरोना भाइरस अहिले अमेरिकामा व्यापक रुपमा फैलिरहेको आइतबार प्रकाशित अध्ययनले जनाएको छ ।
यो पहिलेभन्दा बढी संक्रमक किसिमको भाइरस हुनेहरु प्रत्येक नौ दिनमा दुई गुणाले बढ्दै गएको पत्ता लागेको हो । नयाँ रुपान्तरित भाइरसले हाल विश्वभरि नै खोपको प्रयास अझ तिव्र बनाउन दबाब दिइरहेको छ । अमेरिकाको सीडीसीले आगामी मार्चसम्ममा यही नयाँ प्रकारको भाइरस सबै बिरामीमा हावी हुने अनुमान गर्दै चिन्ता व्यक्त गरेको छ । यो नयाँ अध्ययन थुप्रै अनुसन्धानकर्ता र वैज्ञानिकहरु मिलेर संयुक्त रुपमा सञ्चालन गरिएको थियो । यसमा नयाँ भाइरसबाट संक्रमित हुनेको सङ्ख्या अहिले तुलनात्मक रुपमा सानो देखिए पनि यो तिव्र रुपमा फैलिरहेको र उच्च स्तरमा बढ्दै जान सक्ने बताइएको छ । ‘बी.१.१.७’ नामको यो भाइरस ५० भन्दा धेरै देशमा फैलिसकेको छ ।
सुरुवाती भाइरसजस्तै यो पनि विशेषगरी बढी उमेरका र स्वास्थ्य समस्या भएकाहरुका लागि प्राणघातक हुन सक्छ । यसअघि यो नयाँ भाइरसलाई, मृत्युको जोखिम ३० प्रतिशत बढाइदिनेसँग पनि जोडिएको थियो । तर, यसबारे प्रस्तुत गरिएको प्रमाण बलियो नभएको र डाटा पनि अझै अनिश्चित भएको बताइएको छ । हाल सबैतिर प्रयोगमा ल्याइएका खोपहरु सुरुवाती भाइरस विरुद्ध काम गर्ने किसिमले निर्माण गरिएको हुँदा नयाँ भाइरसमा प्रभावकारी हुने नहुने सम्बन्धी पनि चिन्ता बढेको थियो । तर, फाइजर, अक्सफोर्ड–एस्ट्राजेनेका र मोडेर्ना तीनवटै खोपले ‘बी.१.१.७’ विरुद्ध सुरक्षा दिलाउन सक्ने संकेत दिएका छन् । -बीबीसी