कावासोतीः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सात करोड रुपैयाँको लागतमा कार्यक्रम गरिने भएको छ ।

कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत सात करोड रुपैयाँ बराबरको काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । ताल अहिले झारले ढाकेर जीर्ण बनेको छ । कावासोती–७ र ८ अन्तर्गत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय विकासका कार्यक्रम गरिने छ । नगरपालिकाकै मत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा तालसहितको क्षेत्र आवश्यक पूर्वाधारको अभावमा ओझेल पर्दै आएको थियो । यस क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगरप्रमुख पुनले बताइन् । नगरपालिकाको हरेक क्षेत्रको विकासमा आफूहरु नगरस्तरबाट लागेको बताउँदै प्रदेश र संघसँग समेत साझेदारीमा यहाँको विकासका लागि काम अगाडि बढाइरहेको उनले बताइन् ।

‘‘हामी नगरका हरेक क्षेत्र समेटेर विकासका कामलाई अगाडि बढाइरहेका छौँ । पर्यटकीय क्षेत्रको विकासमा मन्त्रलायसँग समेत साझेदारीमा काम गर्न लागेका छौँ,’’ नगरप्रमुख पुनले भनिन्, ‘‘आवश्यकताअनुसार प्रदेश र संघसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।’’ पर्यटकीय क्षेत्रको विकासका लागि मन्त्रलायसँगको साझेदारीमा काम अघि बढन् लाग्नु खुसीको कुरा भएको नगरप्रमुख पुनले बताइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साझेदारीमा काम गर्न लागिएका देशभरका २०० योजनाको सूची सार्वजनिक गरेको छ । टरुवा तालसहितको क्षेत्रको पर्यटकीय पूर्वाधार विकासका लागि यति धेरै बजेट विनियोजन भएको हो । पहिलोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच यति धेरै बजेट साझेदारीमा कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।

कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए । टरुवा ताल क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नगरको पहिल्यैकै योजना रहेको र सोहीअनुसार गुरुयोजनासमेत तयार गरिसकिएकाले अब ठेक्का प्रक्रियामार्फत तत्काल काम अगाडि बढाइने नगरपालिकाका आर्किटेक्ट इन्जिनियर पवन रुपाखेतीले बताइन् । उनले पर्यटन पूर्वाधार विकासका काम सम्पन्न गरेसँगै टरुवा ताल नगरकै गहनाका रूपमा विकास हुने बताए । मन्त्रालय र नगरपालिकाबीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाका रूपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना शाखाका शाखा अधिकृत होमनाथ काफ्लेले बताए ।

उनका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको चार करोड ५५ लाख र कावासोती नगरपालिकाको दुई करोड ४५ लाख रुपैयाँ लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताए । कावासोती नगरपालिकामा रहेको टरुवा ताल यहाँको महत्वपूर्ण क्षेत्र हो । बजार क्षेत्रबाट नजिकै रहेकाले समेत भोलिका दिनमा महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुने आशा गरिएको छ । -रासस