काठमाडौँः पौष शुक्ल पूर्णिमादेखि एकमहिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आज बिहान दक्षिणकालीस्थित शेषनारायण मन्दिरमा पूजा–आराधनासहित दर्शन गरेका छन् ।

सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो । माधवनारायणलाई स्नान गराइसकेपछि सूर्यकुण्डबाट शेषनारायणसम्म व्रतालुले जल चढाउने प्राचीनकालदेखिको विधि रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन माधवनारायणका व्रतालुले शेषनारायणमा पूजा–आराधना गर्ने प्रचलन रहेको छ । शेषनारायणमा पूजा–आराधनाका लागि माघकृष्ण औँसीकै बेलुकी बिहीबार व्रतालु त्यहाँ पुगेका थिए । माघ शुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा–आराधना गरिन्छ । पूजा–आराधना सकेर पैदल आई व्रतालुले दिउँसोको भोजन शंखमूल क्षेत्रमा गर्छन् । व्रतालु पैदल आए पनि सामान बोक्न भने २० वर्षदेखि यातायातको व्यवस्था हुन थालेको छ ।

माघ शुक्ल प्रतिपदाको राति शंखमूलबाट पैदलयात्रा गरी साँखु गएर पूर्ववत् व्रत विधि गर्ने परम्परा छ । तीर्थयात्राका लागि व्रतालु माघकृष्ण चतुर्दशीका दिन शालीनदीबाट हिँडेका थिए । त्यसपछि पशुपतिमा बास बसे । माधवनारायण व्रतालुलाई राख्न पशुपति क्षेत्रमा प्राचीनकालदेखि नै भवनको व्यवस्था गरिएको छ । त्यो भवनमा पराल ओछ्याएर व्रतालु सुत्छन् । दोस्रो शेषनारायणमा बास बसेपछि तेस्रो रात बास बस्न शालीनदी पुग्ने परम्परा छ । माघकृष्ण औँसीका दिन बिहान पशुपतिस्थित आर्यघाटमा स्नान, पशुपतिनाथ मूल मन्दिरमा पूजा–आराधना एवं जयवागेश्वरीसम्म जल चढाउने विधि पूरा गरेपछि बिहीबार दिउँसोको भोजन व्रतालुले सानो गौचरणमा गरेको पत्रकार पवनलाल श्रेष्ठले बताए । नारायणहिटीमा माधवनारायणलाई राजतन्त्र रहुञ्जेल राजाले दर्शन गर्ने गरेकामा हाल माधवनारायणको कलश राष्ट्रपतिलाई दर्शन गराइन्छ ।

पशुपतिमा माधवनारायण व्रतालु आउने भएकाले माघ कृष्ण चतुर्दशीको दिउँसोदेखि नै आर्यातीर्थसमेत भनिने आर्यघाटमा शव नजलाउने गरिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । बिहीबार व्रतालुले पशुपति नछोडेसम्म आर्यघाटमा शव नजलाउने व्यवस्था मिलाइएको थियो । विगत वर्षमा करिब ४०० ले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ । यसपटक महिला ३५ र पुरुष १४ गरी ४९ जना व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए । कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भिड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी बिनाहिच्किचाहट शालीनदीमा आइरहेका छन् । शंखरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ । -रासस