बेलबारीः मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रको पर्यटकीय स्थलमा धूमपानमा रोक लगाइएको छ । पिकनिक क्षेत्र र सिमसार क्षेत्रका होटलमा मात्रै धूमपान गर्न पाइने भएको छ । जङ्गल, जनावर भएको क्षेत्र र पोखरीको आसपास धूमपान गर्न नपाइने भएको हो ।
प्रदेश नम्बर १ को प्रख्यात पर्यटकीय क्षेत्रको रूपमा परिचित सो सिमसार क्षेत्रका जीवजन्तुहरूलाई असर पर्ने सम्भावना हुने हुनाले केही क्षेत्रमा धूमपान निषेध गरिएको जनाइएको छ ।
पिकनिक स्पटका रूपमा परिचित सिमसार क्षेत्रमा जनावर भएको क्षेत्र तथा पोखरी आसपासका क्षेत्रमा धूमपान गर्न नदिने बेतना सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बेतना सिमसार क्षेत्र सामुदायिक बनसहित १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । मोरङ, झापा, सुनसरी भारत तथा भुटानबाट समेत बेतनामा पर्यटक आउन गरेका छन् । दैनिक ५ सय भन्दा बढी पर्यटक आउने गरेको जनाइएको छ ।
सिमसार क्षेत्रमा पालिएका विभिन्न जङ्गली जनावरहरूलाई समेत असर गर्ने गरी केही पर्यटकहरूले चुरोट खाने गरेको पाइएको थियो । चुरोटको ठुटो जङ्गल नजिकै फाल्ने गरेकाले आगलागीको सम्भावना रहेको बस्नेतले बताए । समितिका कोषाध्यक्ष कमल कोइरालाका अनुसार पिकनिक क्षेत्रमा भने धूमपान गर्न पाइन्छ ।
बेतना सिमसार क्षेत्र कछुवाको प्रजनन क्षेत्रका रूपमा परिचित छ । बेतना सिमसारमा कमिलाको प्रतीक, काठे पुल, अजिङ्गर, बाँदर, कालिज, बकुल्ला हरिण, बँदेल, खरायोलगायतका पशुपंक्षी रहेका छन् । पोखरीमा दशैंको समयमा बोटिङ गर्नेको भीड लाग्ने गरेको छ ।