इटहरीः सुनसरीको इटहरीमा सञ्चालित १९ ओटा होटलहरुको स्वच्छता अनुगमन भएको छ ।
विभिन्न ५० ओटा मापदण्ड निर्धारण गरी हरेक मापदण्डका लागि २ नम्बर प्रदान गर्दै होटलहरुलाई चार वर्गमा विभाजन गरिएको हो । पहिलो अर्थात् ‘क’ वर्गमा अतिउत्तम, ‘ख’ वर्गमा उत्तम, ‘ग’ वर्गमा सन्तोषजनक र ‘घ’ वर्गमा सामान्य तथा सुधार गर्नुपर्ने होटलहरुलाई राखिएको छ । अतिउत्तम वर्गमा एउटा मात्र होटल परेको छ । इटहरीको संगीत चौकमा सञ्चालित होटल इन्टुरिस्ट प्यालेस अनुगमनका क्रममा अतिउत्तम वर्गमा परेको इटहरी उपमहानगरपालिकाले जनाएको छ । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले सो होटल दुई वर्षअघि सञ्चालनमा ल्याएका हुन् ।
आइतबार र सोमबार दुई दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका कार्यालय प्रमुखसहितको टोली र इटहरी उपमहानगरको कर शाखाका प्रमुखसहितको टोलीले होटलको अनुगमन गरेका हुन् । यही वरियता क्रम अनुसार इटहरीका १९ होटलमध्ये आठ वटा होटल उत्तम र आठ वटै होटल सन्तोषजनक वर्गमा परेका छन् । इटहरीका १९ होटलमध्ये दुई वटा होटलले आफ्नो स्वच्छता सुधार गर्नुपर्ने अनुगमनका क्रममा भेटिएको छ ।