इटहरीः आज श्रीपञ्चमी अर्थात् सरस्वति पूजा । विद्याकी देवी सरस्वतिको विधिवत आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ ।
देशभरका मन्दिरहरुमा सरस्वति पूजा गर्ने श्रद्धालुको भीड लागेको छ । यसैगरी, विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाहरुमा समेत विद्याकी देवी सरस्वतिको पूजा आराधना गरिँदैछ । हिन्दु परम्परा अनुसार माता सरस्वतिको पूजा आराधना गरे विद्या र बुद्धिमा अभिवृद्धि हुने विश्वास गरिन्छ । एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठआठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । साना बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराउने चलन पनि छ । आजको दिनबाट शिक्षा आरम्भ गरे शुभ हुन्छ भन्ने आस्थाका कारण देशैभरका विद्यालयहरुमा आजका दिन अक्षरारम्भ गराउने व्यवस्था मिलाइएको हुन्छ ।
आजकै दिनबाट वसन्त ऋतुको आगमन हुने हँुदा आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । आजदेखि सूर्य उत्तरतिर लागी दिन लामो हुने प्रकृयासमेत प्रारम्भ हुन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले हनुमानढोका दरबारमा गई वसन्त श्रवण गर्ने परम्परा छ । वसन्त श्रवणको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराउँदै आएको छ ।