इटहरीः दशैंपछि पहिलो दिन आइतबार खुलेको सेयर बजारले हरियो झण्डा देखाए पनि कारोबार रकम भने वर्षकै न्यून रकम रहेको छ ।

बजार बढ्दै जाने क्रममा दिउँसो २ बजे ६ अङ्कभन्दा बढी बढेर १२४८ अङ्कसम्म पुगे पनि सामान्य करेक्सन भई १२४६ दशमलव ५२ अङ्कमा रोकिएको छ । चालु आर्थिक वर्षको साउन २३ गते सबैभन्दा कम रुपैयाँको सेयर कारोबार हुँदा १४ करोड ९१ लाख ९७ हजार ७ सय ९५ रुपैयाँको सेयर कारोबार भएको थियो । आजको बजारले त्यो रेकर्ड पनि तोडेर १४ करोड ५ लाख ४९ हजार २९ रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

कारोबार सङ्ख्या र कारोबार हुने कम्पनीमा पनि तोडियो रेकर्ड
चालु आर्थिक वर्षमा साउन २ गते जम्मा १ सय ३९ कम्पनीको कारोबार भई सबैभन्दा थोरै कम्पनीको सेयर कारोबार भएको दिनको रुपमा चिनिएको थिया । आइतबार सो रेकर्ड तोड्दै जम्मा १ सय २४ कम्पनीको मात्रै सेयर कारोबार हुन पुग्यो ।
त्यस्तै, कारोबार सङ्ख्यामा पनि आइतबार नयाँ रेकर्ड कायम भएको छ । साउन २ गते नै २ हजार ३ सय ५ पटक कारोबार भएको थियो भने आज २ हजार २ सय ४ पटकमात्रै सेयर कारोबार हुन पुग्यो । सेयर सङ्ख्या भने साउन २ गते नै सबैभन्दा न्यून रहन पुग्यो । साउन २ गते ४ लाख ७७ हजार ६ सय ८७ कित्ता सेयर किनबेच भएका थिए भने आइतबार ७ लाख ७ सय २३ कित्ता सेयर किनबेच भए ।

अघिल्लै वर्षको पुनरावृत्ति
अघिल्लो वर्ष दशैंअघिको अन्तिम कारोबार भएको दिन ३२ करोडको कारोबार भएको थियो यस वर्ष ३३ करोडको कारोबार भयो । त्यस्तै, दशैंपछिको पहिलो कारोबार रकम अघिल्लो वर्ष पनि १४ करोड रुपैयाँ थियो भने यस वर्ष पनि १४ करोड रुपैयाँ नै हुन पुग्यो ।

अघिल्लो वर्ष दशैं अघिको अन्तिम कारोबार हुँदा १ सय ५३ कम्पनीको कारोबार भएको थियो भने दशैंपछिको पहिलो कारोबार हुँदा १ सय २४ कम्पनीको कारोबार भएको थियो । यस वर्ष दशैंअघिको अन्तिम कारोबार हुँदा १ सय ५२ कम्पनीको र दशैंपछिको पहिलो कारोबार हुँदा १ सय २२ कम्पनीको कारोबार हुन पुग्यो । दुवै वर्षको कारोबार स्थिति लगभग उस्तै देखिन्छ ।

५ सूचकमा हरियाली, ५ सूचक राताम्मे
सबैभन्दा धेरै अन्य समूहको सूचक ० दशमलव ७० प्रतिशतले वृद्धि हुँदा सबैभन्दा कम विकास बैंक समूहको सूचक ० दशमलव २६ प्रतिशतले मात्रै बढेको छ । होटल समूहको सूचक सबैभन्दा धेरै ० दशमलव ८२ प्रतिशतले ओरालो लाग्दा निर्जीवन बीमा कम्पनीको सूचक सबैभन्दा कम ० दशमलव ०३ प्रतिशतले मात्रै तल झरेको छ ।

कारोबार रकममा प्रभु बैंक अघि
कारोबार रकममा प्रभु बैंक अघि देखिएको छ । सो बैंकको ३ करोड १६ लखा ५७ हजार ५ सय ९९ रुपैयाँको सेयर कारोबार भएको थियो । एनआइसी एशिया बैंकको १ करोड ८१ लाख ७६ हजार २ सय ४७ रुपैयाँको सेयर कारोबार हुुँदा एनएमबी बैंकको १ करोड ४ लाख १० हजार १ सय २० रुपैयाँको कारोबार भएको थियो । अरु कम्पनीको कारोबार रकमले भने ९० लाखको अङ्क पनि छुन सकेन ।

सेयर सङ्ख्यामा पनि प्रभु नै अघि
आइतबार सेयर सङ्ख्याको आधारमा प्रभु बैंक नै अघि देखिएको छ । सो बैंकको १ लाख २८ हजार ३ सय ३० कित्ता सेयर कारोबार भएको थियो । सिभिल बैंकको ५० हजार २ सय ३० कित्ता र एनआइसी एशिया बैंकको ४० हजार ५ सय ७० कित्ता सेयर किनबेच भयो । अरु कम्पनीको कारोबार सङ्ख्या ३२ हजार कित्ताभन्दा तल रहेको छ ।

कारोबार सङ्ख्यामा भर्खरै लिस्टिङ भएका हाइड्रोपावर
आइतबार कालिका पावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै २ सय ६५ पटक कारोबार हुँदा पञ्चकन्या माइ हाइड्रोपावरको २ सय १७ पटक कारोबार भयो । यी दुवै कम्पनी असोज अन्तिम सातादेखि कारोबारमा आएका हुन् । प्रभु बैंकको १ सय ७८ पटक र एनआइसी एशियाको १ सय १३ पटक कारोबार हुँदा अरु कम्पनीको कारोबार सङ्ख्या भने १ सयभन्दा तल नै रह्यो ।

मूल्य बढ्नेमा भार्गव विकास बैंक र घट्नेमा मिर्मिरे माइक्रोफाइनान्स
आइतबार भार्गव विकास बैंकको सबैभन्दा धेरै ६ दशमलव २५ प्रतिशतले मूल्य बढ्दा ग्रीन डेभलपमेन्ट विकास बैंकको ५ दशमलव ०८ प्रतिशत र हिमालयन डिस्टिलरीको ३ दशमलव ८५ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य ४ दशमलव ७९ प्रतिशतले घट्दा ग्लोबल आइएमइ लघुवित्तको ३ दशमलव २८ र राधी जलविद्युत कम्पनीको ३ दशमलव शून्य ६ प्रतिशतले मूल्य घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ८७ अर्ब कायम भएको छ ।