वासिङ्टन डीसीः अमेरिकाको सरकारी तथ्यांकअनुसार सोमबारसम्म पाँच लाख ७१ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको युद्धमा मृत्यु भएका सबै अमेरिकीभन्दा कोरोनाले ज्यान गुमाउने धेरै हुनु हृदयविदारक भएको बताएका छन् । सोमबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै बाइडेनले एउटा राष्ट्रको रूपमा यस्तो कठोर भाग्य आफूहरूले स्वीकार्न नसक्ने बताए । ’लामो समयदेखि हामी यो महामारीसँग लडिरहेका छौं तर यो समयलाई हामीले आफूलाई विक्षिप्त भएर केही गर्नै नसक्ने हुन दिनुहुन्न,’ बाइडेनले भने,‘परिवार, समुदाय र देशलाई विभाजित गर्ने गलत सूचनाको राजनीति हामीले रोक्नुपर्छ। यो लडाइँ हामी सबै एक अमेरिकी नागरिक भएर लड्नुपर्छ ।’

सम्बोधनपछि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसलगायत अधिकारीहरूले मृतकको सम्झनामा मौन धारण गरेका थिए । बाइडेनले अमेरिकाभरि मौन धारण गर्न आग्रह गरेका थिए । बाइडेनले कोरोनाबाट ज्यान गुमाएकाहरूको सम्झनामा पाँच दिन राष्ट्रिय झन्डा आधा झुकाउन पनि निर्देशन दिएका छन् । संघीय सरकारमातहतका सबै कार्यालय र सैनिक बेसमा अमेरिकी झन्डा झुकाइनेछ । सन् २०१९को अन्त्यमा चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको महामारीले संसारमा अहिलेसम्म २४ लाख ८४ हजार मानिसको मृत्यु भएको छ। तीमध्ये १९ प्रतिशत मानिस अमेरिकाका छन् । विश्व जनसंख्यामा अमेरिकाको हिस्सा ४ प्रतिशतमात्र छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अघिल्लो वर्ष कोरोनाभाइरसलाई गम्भीरतापूर्वक नलिएको र एकीकृत योजना नबनाएका कारण धेरै अमेरिकीको ज्यान गएको बताइन्छ । -एजेन्सी