इटहरीः सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षीय सदस्यहरु सम्मिलित स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन सरकार राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको भोलिपल्ट बसेको स्थायी कमिटि बैठकले अदालतको आदेश पालना गर्दै संसद् बैठक आह्वान गर्ने निर्णय गरेको स्थायी कमिटिका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । केही दिनअघि मोरङको विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले सेटिङमा प्रतिनिधिसभा पुनःस्थापना गरे त्यसविरुद्ध आफ्नो पार्टी आन्दोलनमा उत्रने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । तर, अदालतले गरेको निर्णयको पालना गर्न अहिले भने प्रधानमन्त्री ओली तयार भएका हुन् ।
आफूविरुद्ध प्रतिनिधिसभामा अविश्वास प्रस्ताव पेस हुन लागेको जानकारी पाएलगत्तै गत पुस ५ गते मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले पनि बिनापरामर्श सोही दिन प्रतिनिधिसभा भंग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएका रिटहरुमाथि अन्तिम सुनुवाइ गर्दै सर्वोँच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरीको राय समेतका आधारमा हिजो प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।