इलामः इलामका स्थानीय निकायहरु यहाँका इतिहास तथा संस्कृति जोगाउन लागिपरेका छन् ।
त्यसका लागि यहाँस्थित एउटा पुरानो सङ्ग्रहालयलाई व्यवस्थित गरेर इतिहास तथा संस्कृति झल्काउने वस्तुहरुको संरक्षण थालिएको छ । २०५५ सालमा निर्माण भएको इलाम नगरपालिकास्थित अरनिको सङ्ग्रहालयलाई अहिले व्यवस्थित गर्न थालिएको हो । तत्कालीन स्थानीय निकायमा जनप्रतिनिधि जनप्रतिनिधि निर्वाचित नहुँदा सङ्ग्रहालय बन्द भएको थियो । दुई वर्षअघि इलाम नगरपालिकाकै अगुवाइमा सङ्ग्रहालय पुनःस्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयलाई नै सङ्ग्रहालय बनाएर १४७ किसिमका ऐतिहासिक र सांस्कृतिक सामग्री राखिएको छ । यहाँ पुरानो लुगा सिउने तान, मोही हाल्ने धिरी, मोही पार्ने लाजिम, मोही बोक्ने बाँसबाट बनेको भुनेजस्ता सामग्री छन् । अँध्यारोमा बाल्ने टुकी, ठडेउरो, ग्रामोफोन, मटियाजस्ता सामग्री पनि राखिएके छ ।
इलाम नगरपालिकाभित्र फेला परेका सामग्री धेरै छन् भने केही सामग्री सन्दकपुर गाउँपालिकाबाट पनि ल्याइएको छ । सामग्रीमा निर्माणकर्ताको नामसमेत टाँसिएको छ । सङ्ग्रहालयका तीन कोठामा सामग्री सजाएर राखिएको छ । एउटा कोठामा हस्तकलाका सामग्री छन् भने अन्य कोठामा पुराना सामग्री समेटिएको छ । सङ्ग्रहालयमा रहेका २२ कोठामा २२ वटै जातिलाई पराम्परागत एवम् पहिचान झल्किने सामग्री राख्न दिइनेछ । यसबाट जिल्लामा रहेको लोपोन्मुख समूहमा पर्ने लेप्चा र अन्य जातिको पनि पहिचान झल्कने देखिन्छ । यस्तै, इलामका प्रमुख पहिचान बनाएका नगदेबाली र भू–भागको पनि नक्साङ्कन गर्ने योजना रहेको इलाम नगरपालिका साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष टीका घिमिरेकोे भनाइ छ । सङ्ग्रहालयमा पञ्चेबाजा र पञ्चेबाजा बजाउने मान्छेको प्रतिमा छ भने पुराना ढिकी, जाँतो, कोल हेर्न पाइन्छ । ‘इतिहास चिनाउनकै लागि सङ्ग्रहालय निर्माण गरिएको हो,’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने, ‘पहिले पनि म नै प्रमुख भएका बेला बनाइएको हो तर अहिले पुनर्जीवन दिएको मात्र हो ।’
सङ्ग्रहालयको पुनःस्थापना दुई वर्षअघि भएको हो । राणाकालीन दरबारमा सङ्ग्रहालय बनाइएको छ । यो दरबार इलाममा गजराजसिंह थापा बडाहाकिम हुँदाको हो । सङ्ग्रहालयमा इलाम भनेर चिनिने अलैँची, अदुवा, अकबरे, अम्लिसो, अर्थोडक्स चियाको नक्साङ्कन गरेर पर्यटकलाई एकै ठाउँबाट इलाम चिनाउने प्रयत्न गरिँदै छ । सङ्ग्रहालयको नजिकको भवनमा इलामका चर्चित ठाउँको भिडियो बनाएर प्रदर्शन गर्ने तयारी गरिएको छ । भिडियोका मद्दतले पर्यटकमा इलामका पर्यटकीय क्षेत्रको ज्ञान बढाउने अपेक्षा सङ्ग्रहालयको छ । भिडियोमा ठाउँका नामसहित भौगोलिक अवस्था र लोकप्रियताका बारेमा जानकारी गराइनेछ । यसपछि पर्यटकमा जिल्लाका पर्यटकीय क्षेत्र घुम्न थप ऊर्जा मिल्ने अध्यक्ष घिमिरेको भनाइ छ । सङ्ग्रहालयकै रकमबाट सङ्ग्रहालय अगाडि अरनिको प्रतिमा बनाइएको छ ।
यस्तै इलामको रोङ गाउँपालिकाले लेप्चाको संस्कृति जगेर्ना गर्न २० वर्षे कार्यनीतिक योजना निर्माण गरेको छ । गाउँपालिकाले योजनाअन्तर्गत सोही समयभित्र लेप्चा सङ्ग्रहालय र लेप्चा खाद्यान्नको होमस्टे (घरबास) समेत निर्माण गर्न लागेको छ । गाउँपालिका अध्यक्ष शमशेर राईले भने, ‘सङ्ग्रहालय बनाउँदा उनीहरुको परम्परा नमर्ने र कस्तो वस्तु प्रयोग गर्दा सहज हुन्छ त्यसबारेमा विज्ञ टोलीसँग छलफल गरेर हामी सङ्ग्रहालय निर्माणमा लाग्नेछौँ ।’ यस्तै लापोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि यहाँस्थित सूर्योदय नगरपालिका (सूनपा)ले उद्यान बनाउन थालेको छ । सूनपाले लेप्चाको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो । -रासस