मुम्बईः छिमेकी मुलुक भारतको महाराष्ट्र राज्यमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रका विभिन्न जिल्लामा बुधबार ८ हजार ८ सय ७ जना नयाँ संक्रमित थपिएका हुन् । यो संख्या चार महिनामा सबैभन्दा धेरै हो । पछिल्ला १० दिनयता महाराष्ट्रमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । अहिले उक्त राज्यमा सक्रिय संक्रमितको संख्या ५९ हजार ३ सय ५८ पुगेको छ । महाराष्ट्रमा कोरोनाका विभिन्न भेरियन्टका संक्रमित भेटिएका छन् । संक्रमितको संख्या बढेसँगै विभिन्न स्थानहरूमा ’मिनी लकडाउन’ गरिएको छ ।
कतिपय ठाउँमा होटल, क्याफे, स्वीमिङ पुल बन्द गरिएको छ । पछिल्लो समय भारतका पञ्जाब, केरला र मध्यप्रदेशमा पनि संक्रमितको संख्या बढ्न थालेपछि भारतमा कोरोनाको दोस्रो लहर आउने हो कि भन्ने चिन्ता बढेको छ । ठूलो संख्यामा कोरोनाभाइरसविरूद्धको खोप लगाइरहेको भए पनि भारतमा नयाँ भेरियन्टको कोरोनाभाइरस फैलिए अवस्था जटिल बन्ने विज्ञहरूले बताएका छन् । भारतमा अहिलेसम्म १ करोड १० लाख मानिसलाई कोरोनाको संक्रमण भएको छ भने १ लाख ५६ हजार ७ सयले ज्यान गुमाएका छन् । -एजेन्सी