इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठकले संघीय संसद्को तल्लो सदन अर्थात् प्रतिनिधिसभाको बैठक आह्वान गर्ने सम्भावना रहेको स्रोतले बताएको छ । गत फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भंग गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्दै पुनःस्थापनाको १३ दिनभित्र संसद बैठक आह्वान गर्न राष्ट्रपति कार्यालय र सरकारका नाममा जारी गरेको परमादेश पालनाका लागि १३ दिनभित्र संसद् बैठक बोलाउनैपर्ने बाध्यतामा रहेको सरकारले मन्त्रिपरिषद् बैठकमार्फत् सोको तयारी गर्न लागेको हो ।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको जानकारी पाएलगत्तै गत पुस ५ गते मन्त्रिपरिषद्को आकस्मिक बैठकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनका लागि गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सोही दिन संसद् भंग गरिदिएकी थिइन् । राष्ट्रपतिले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि चुनावसमेत हुने घोषणा गरेकोमा संसद् विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनाको माग राखी सर्वोच्च अदालतमा दायर भएका रिटहरुउपर अन्तिम सुनुवाइ गर्दै संवैधानिक इजलासले फागुन ११ गते संसद् पुनःस्थापना गरिदिएको हो ।