इटहरीः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज बिहान ११ झापा आउने भएका छन् ।
विभिन्न विकास आयोजनाहरुको शिलान्यास तथा जनसभामा सम्बोधन गर्न ओली झापा जान लागेका हुन् । बिहान ११ बजे झापाको भद्रपुर विमानस्थलमा अवतरणपछि आफूले निर्वाचन जितेको पाँच नम्बर निर्वाचन क्षेत्रमा पुगी कमल गाउँपालिकाको तोपगाछी क्याम्पसबाट धरमपुर मङ्गलबारे जोड्ने सडकमा पर्ने कमल खोलाको पुल उद्घाटन गर्ने भएका छन् । यसैगरी, दमकबाट मोरङको उर्लाबारी नगरपालिकाअन्तर्गत आमबारी जोड्ने बेतिनी खोलाको पुल उद्घाटन पनि गर्नेछन् । यसैगरी, कमल र गाौरादह गाउँपालिकाका साथै दमक नगरपालिकामा चीन सरकारको सहयोगमा निर्माण हुन लागेको नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यासमा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।
कमल गाउँपालिका ७ झर्का पश्चिममा आयोजित जनसभालाई सम्बोधनसमेत गर्ने भएका प्रधानमन्त्री ओलीले दमकलाई इलामको चुलाचुलीसँग जोड्ने रतुवा खोलामा निर्माण गर्न लागिएको पुलको शिलान्यास पनि गर्नेछन् । यसलगत्तै बेलडाँगीलाई इलामको बकुवासँग जोड्ने रतुवा नदीको पुलसहित अन्य ३१ ओटा पुलको एकैसाथ शिलान्यास गरी ओली काठमाडौँ फर्कने भएका छन् । प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना गरिदिएपछि पहिलो पटक काठमाडौँबाहिर जान लागेका प्रधानमन्त्री ओलीले आफ्नै गृहजिल्ला भ्रमण गर्ने भएपछि देशका चारवटै सुरक्षा निकायहरु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले जिल्लाको सुरक्षा व्यवस्था कडा पारेको झापाका जिल्ला प्रहरी प्रमुख (एसपी) सानुराम भट्टराईले जानकारी दिए ।