म्याग्दीः बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको पुरानो छाना हटाइने भएको छ ।
नयाँ फेरिने छाना पित्तलको हुने छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय लिएको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताए । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा २० लाख खर्चेर मन्दिर निर्माण गरेका हुन् । पित्तलको छाना राख्न २५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताए । सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी दुई करोड ८६ लाख २० हजार सात सय २८ रुपैयाँ आम्दानी र १९ लाख ६७ हजार आठ सय १४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका । कोषको कूल बचत दुई करोड ६६ लाख ५२ हजार नौ सय १३ बचत रहेको जानकारी उनले दिए । -रासस