काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानी अनुरुपको प्रतिफल हासिल हुनुपर्ने बताएकी छन् ।

आइतबार राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले ‘सबैका लागि शिक्षा’ को अवधारणालाई कार्यान्वयन गर्दै हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको पनि बताइन् । ‘विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको ठूलो भूमिका हुन्छ । विद्यालय र सामाजिक सङ्गठनले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्छ । सरकारका सम्बन्धित निकायले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपपर्छ,’ उनले भनिन् ।

उनले नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्न नीतिगत, कानुनी तथा कार्यक्रमगतरूपमा पर्याप्त व्यवस्था रहेको जनाउँदै यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके चाँडै प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन् । -रासस