इटहरीः प्रदेश १ का होटल व्यवसायीहरुले पर्यटन प्रवद्र्धनका लागि आगामी वर्ष २०७८ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी प्रभावकारी कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् ।
होटल व्यवसायी महासंघ प्रदेश नम्बर १ को प्रथम अधिवेशनमा सहभागी हुन झापाको बिर्तामोडस्थित सीटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा भेला भएका होटल व्यवसायीहरुले यस्तो माग गरेका हुन् । कोभिड १९ को महामारीबाट कमजोर बनेको पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन सरकारले आगामी वर्षलाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी पर्यटकको आवागमनमा वृद्धि गर्नुका साथै होटल व्यवसायीलाई राहत पुग्ने प्याकेज ल्याउनुपर्नेमा उनीहरुको जोड थियो । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव सिवाकोटीको प्रमुख आतिथ्य तथा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्यको विशिष्ट आतिथ्यमा भएको अधिवेशनले दमकस्थित पाथीभरा होटलका सञ्चालक राजन दङ्गालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिसमेत सर्वसम्मत रुपमा चयन गरेको छ ।
कार्यसमितिका उपाध्यक्षमा सुनसरीको इटहरीस्थित मितेरी होटलका सञ्चालक तथा होटल व्यवसायी संघ इटहरीका वरिष्ठ उपाध्याक्ष गोविन्द थापा चयन भएका छन् । यसैगरी, सुनसरीको धरानस्थित सेःछ होटलका सञ्चालक वासुदेव बराल महासचिव, विराटनगरका होटल व्यवसायी महेन्द्र ढुङ्गाना वरिष्ठ उपाध्यक्ष र झापाकी होटल व्यवसायी इन्दिरा श्रेष्ठ कोषाध्यक्षमा सर्वसम्मत चयन भएको प्रदेश १ स्तरीय पर्यटन पुनरुत्थान समितिका सहसंयोजक रबीन गौतमले बताए । उनका अनुसार समितिका सदस्यहरुमा इलामका प्रेम सापकोटालगायत रहेका छन् ।