काठमाडौँः मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा महाशिवरात्रिको पूजा सामग्री सङ्कल्प गरेकी छन् ।
प्रत्येक वर्ष फागुन कृष्ण एकादशीका दिन महाशिवरात्रिको पूजा सामग्री राष्ट्राध्यक्षले सङ्कल्प गर्ने प्राचीनकालदेखिको विधि छ । सङ्कल्पपछि नै देशभरका शिवालयमा महाशिवरात्रिको चहलपहल सुरु हुन्छ । राष्ट्रपतिले महाशिवरात्रिको सङ्कल्प गरेसँगै मङ्गलबार बेलुकीदेखि नै पशुपतिनाथ मूल मन्दिर परिसरमा पर्व मनाउन आएका साधुसन्तलाई भोजनसहित धुनीको व्यवस्था गरिएको छ । पशुपति क्षेत्रका गोरखनाथ, राममन्दिर, निर्मल र भष्मेश्वर अखडामा भने आज बिहानदेखि भोजन र आज बेलुकीदेखि धुनीको व्यवस्था गरिने गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।
थापाथली क्षेत्रका बैरागी, सन्न्यासी, उदासी र नाथ सम्प्रदायका अखडामा पनि आज बिहानदेखि नै साधुसन्तलाई भोजनसहित बस्ने एवम् बेलुकी धुनी जगाउने व्यवस्था गरिनेछ । मङ्गलबार राष्ट्रपति भण्डारीले गुठी गोश्वारा कार्यालयबाट खर्पनमा लगिएको नरिवलको जटा, पीताम्बर, फूल, प्रसाद, अक्षता, धूपदीप, कपूरलगायत सामग्रीको सङ्कल्प गरेकी थिइन् । यसैगरी, साधुसन्तलाई संस्थानका तर्फबाट प्रदान गरिने शङ्ख, घण्ट, चमर, राडपाखी, त्रिशूल, कमण्डलु र पहेँलो वस्त्रसमेत सङ्कल्प गरिएको थियो । कोरोना महामारीको जोखिम कायमै भए पनि पशुपति क्षेत्र र थापाथलीमा विगत वर्षमा जत्तिकै साधुसन्त महाशिवरात्रि मनाउन आएको कार्यालयले जनाएको छ । -रासस