इटहरीः आज महाशिवरात्रि पर्व भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरेर प्रदेश १ सहित देशभर मनाइएको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ । हिन्दुहरुको आस्थाको केन्द्र पशुपति नाथमा आज भक्तजनहरुको घुइँचो लागेको छ । यसका साथै प्रदेश १ मा खोटाङको हलेसी महादेव, झापाको अर्जुनधारा र सुनसरीको पिण्डेश्वरसहित प्रदेशभरिका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ ।

FB_IMG_1615450581496

कोरोना महामारीलाई पनि वेवास्ता गर्दै यी शिवालयहरुमा बालबालिकादेखि वृद्धवृद्धासम्मको भीड लागेको हो । आज स्नान गरेर शिवको पूजा गरेमा आफूले चाहेको गुरा सिद्द हुने र मरपछि बैकुण्ठमा बास हुने हिन्दुहरुको विश्वास रहिआएको छ । यही विश्वासका साथ सुनसरीको इटहरीमा रहेका विभिन्न मठ, मन्दिर तथा तलाउमा पनि शिवको पुजा गर्नेको भीड लागेको छ । इटहरीको बुढीगंगाजमुना मुक्तिघाटमा रहेको शिवको मूर्तिमा पूजा गर्नेहरुको विशेष भिँड लागेको छ । यस्तै धरानको पिण्डेश्वरमा पनि बिहानैदेखि भक्तालुहरुको भीड लागेको छ । यसका साथै प्रदेशका अन्य शिव मन्दिरहरुमा विशेष पूजा आराधना गरिएको छ ।