इटहरीः भारतलाई कर्मभूमि बनाएर नेपाली साहित्यमा दशकौँदेखि कलम चलाइरहेका वरिष्ट व्यङ्ग्यकार तथा कवि कृष्ण प्रधानले अहिलेको युग प्रविधिको युग भएकाले त्योसँगै साहित्यलाई पनि परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

सुनसरीको धरानमा आयोजना भएको दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्य तथा पर्यटन महोत्वसमा भारतदेखि आएका उनले सो कुरा औँल्याएका हुन् । ‘डिजिटलाइज हुनु आवश्यक छ र यो हुनु पर्छ भन्ने मेरो भनाइ हो । म पनि नेपालका केहि पत्रिकाहरुमा व्यङ्ग्य लेख्छु । समालोचनाहरु लेख्छु । पत्रिकामा आउँदा पर्खनुपर्छ । कहिले आउँछ र पढौँ भनेर कुर्नुपर्छ । तर, अहिले त केही पत्रिकाहरु डिजिटल पनि बनिसकेका छन्’, उनले भने । यसले गर्दा पाठक र साहित्यकार दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ । सञ्चार माध्यमबाट यस्ता सिर्जनाहरु आउनु राम्रो भएपनि सामाजिक सञ्जालमा व्यक्तिगत रुपमा आउने रचनाले भने विकृति ल्याएको उनको भनाइ छ ।

‘अहिले साहित्य पोस्ट लगायतका नेपालमा साहित्य मात्रै आउने पत्रिकाहरु पनि छन् । जहाँ मेरा पनि रचनाहरु आइरहेका हुन्छन् । तर, फेसबुकहरुमा आउने पोस्टहरुचाहिँ मलाई लगामहिन लाग्छ’, उनले भने । साथै उनले पछिल्लो समय नेपाली साहित्यमा आयातित शब्दको प्रयोग बढ्दै गएको स्मरण गराउँदै यसको फाइदा र बेफाइदा दुवै रहेको बताएका छन् ।