इटहरीः मोरङको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विज्ञान संकायअन्तर्गत स्नातक तह तेस्रो वर्षको वार्षिक परीक्षाका क्रममा दुई ओटा विषयका प्रश्नपत्र बाहिरिएपछि केन्द्रीय परीक्षा समितिका प्रतिनिधिले हिजो स्थलगत निरीक्षण गरेका छन् । प्रश्नपत्र बाहिरिएको घटनामा केन्द्राध्यक्ष तथा क्याम्पस प्रमुख डा.बाबुराम तिम्सिना र सहायक केन्द्राध्यक्ष तथा मानविकी संकायका सहायक क्याम्पस क्याम्पस प्रमुख डा.शुशील अधिकारी तथा परीक्षा अधिकृत हरि तिम्सिनामाथि मिलेमतोमा प्रश्नपत्र बाहिर पुर्याएको आरोप लागिरहेका बेला विराटनगरस्थित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक नन्दकुमार न्यौपानेसहित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परीक्षा समितिका प्रतिनिधिहरु बैकुण्ठ खनाल र केशवराज शर्मा सहितको टोलीले क्याम्पसको स्थलगत निरीक्षण गरेको हो । गएको माघ २७ गतेका लागि निर्धारण गरिएको फुड एन्ड एग्रीकल्चर संकायको प्रश्नपत्र परीक्षाको अघिल्लो दिन अर्थात् माघ २६ गते अर्कै विषयका परीक्षार्थीहरुलाई बाँडिएको थियो ।
परीक्षार्थीहरुले आफ्नो विषयको प्रश्नपत्र नभई गलत प्रश्नपत्र हातमा परेको जानकारी गराएपछि परीक्षा निरीक्षकले प्रश्नपत्र फिर्ता लिएका थिए । तर ३५ विद्यार्थीका बीच वितरण भएको गलत प्रश्नपत्रको एक विद्यार्थीले फोटो खिचेर सम्बन्धित विद्यार्थीसम्म फैलाइदिएका थिए । गलत प्रश्नपत्र वितरण भई प्रश्नपत्र बाहिरिएको बारे क्याम्पस प्रमुख तथा केन्द्राध्यक्ष डा.बाबुराम तिम्सिनालाई तुरुन्त जानकारी गराउनुपर्नेमा परीक्षा निरीक्षक तथा विज्ञान संकायका अध्यापक श्रीकृष्ण यादवले त्यसो गरेनन् । बरु सहकेन्द्राध्यक्ष डा. शुशील अधिकारीसँग मिलेमतो गरी बाहिरिएको प्रश्नपत्र पुनः सीलबन्दी गरी घटना लुकाउन खोजिएको विद्यार्थी संगठनको आरोप छ । क्याम्पस प्रमुख तथा केन्द्राध्यक्ष डा. बाबुराम तिम्सिनालाई हात्तिसार क्याम्पसका सहायक क्याम्पस प्रमुख हेमन्त खनालले प्रश्नपत्र बाहिरिएको घटनाबारे जानकारी गराएपछि तिम्सिनाले मेलमार्फत् नयाँ प्रश्नपत्र मगाई भोलिपल्ट परीक्षा सञ्चालन गरेका थिए । २७ गतेको प्रश्नपत्र २६ गते नै बाहिरिएको घटनाबारे क्षेत्रीय परीक्षा नियन्त्रक नन्दकुमार न्यौपानेले केन्द्रीय परीक्षा समितिलाई जानकारी गराएपछि सो समितिले घटनाको छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको छ । सीआईबीले छानबिन जारी राखेको बताउँदै क्षेपनिकाले सोको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही गरिने जनाएको छ ।
यता, फागुन २३ गतेका लागि निर्धारित विज्ञान संकायकै माइक्रोबायोलोजी विषयको परीक्षाको प्रश्नपत्रको बण्डल नै गायब भएको जानकारी माघ २२ गते आफूहरुलाई प्राप्त भएको विद्यार्थी संगठनका प्रतिनिधिहरुले बताएका छन् । उनीहरुका अनुसार एमबी तीन सय तीन कोड नम्बर रहेको फर्मास्युटिकल माइक्रोबायोलोजी एन्ड क्वालिटि म्यानेजमेन्ट विषयको प्रश्नपत्रको बण्डल नै गायब भएकोमा परीक्षा सञ्चालन हुने दिन अर्थात् फागुन २३ गते दिउँसो १२ः३० बजे सञ्चालन गर्नुपर्ने परीक्षाको प्रश्नपत्र बिहान ११ बजेसम्म क्याम्पस प्रशासनसँग थिएन । परीक्षाबारे सोध्दा केहीबेरपछि जानकारी दिने भन्दै क्याम्पस प्रशासनका अधिकारीहरु पन्छिने गरेको एक विद्यार्थी नेताले बताए । तर, क्याम्पस प्रमुख डा.तिम्सिनाको व्यक्तिगत इमेलमा आएको प्रश्नपत्र फोटोकपी गरेर वितरण गरी २३ गतेको परीक्षा सम्पन्न गरिएको विद्यार्थीको भनाइ छ । सो फोटोकपी गायब भएकै प्रश्नपत्रको डिजिटल प्रतिबाट गरिएको विद्यार्थीहरुको आरोप छ । क्याम्पस प्रशासनले आफूनिकट विद्यार्थीलाई उत्तिर्ण गराउन बाहिरिएकै प्रश्नपत्र प्रयोग गरी परीक्षा सञ्चालन गरेको उनीहरुको जिकिर छ ।
विज्ञान संकायका एक उपप्राध्यापकले प्रश्नपत्र बाहिरिएको घटनामा क्याम्पस प्रमुख तथा केन्द्राध्यक्ष डा बाबुराम तिम्सिना र मानविकी संकायका सहायक क्याम्पस प्रमुख तथा सहकेन्द्राध्यक्ष डा.शुशील अधिकारीको भूमिका शंकास्पद रहेको बताएका छन् । उनका अनुसार परीक्षा समितिका अधिकारीहरु तथा प्रहरीसमेतको रोहबरमा प्रश्नपत्र खोल्नुपर्नेमा त्यसो नगरी तिम्सिना र अधिकारीले अन्य कुनै अधिकारीलाई प्रश्नपत्र राखिएको कोठामा प्रवेश गर्न नदिई मनपरि किसिमले प्रश्नपत्र खोल्ने गरेका छन् । तर, आरोपी, सहकेन्द्राध्यक्ष अधिकारीले मिलेमतोको आरोप भने अस्वीकार गरेका छन् । क्याम्पसका कर्मचारीको दृष्टिदोषका कारण प्रश्नपत्र बाहिरिएको उनको जिकिर छ । कोरोना महामारीका कारण २०७६ सालमा लिनुपर्ने परीक्षा यस वर्ष लिनुपरेको र त्रिविविले पठाएको प्रश्नपत्रको खाममा २०७६ साल उल्लेख भएकाले त्रुटि भएको अधिकारीको तर्क छ ।
परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा आफू निर्दोष भएको दाबी गरिरहेका सहकेन्द्राध्यक्ष डा.शुशील अधिकारीले नै प्रश्नपत्र बाहिरिएको घटनाविरुद्ध आवाज उठाएका एक विद्यार्थीलाई भने करियर बर्बाद पारिदिने धम्की दिएका छन् । उनले भनेका छन, ‘किन यो विषयमा लागिरहेका छौ, पछि तिम्रो करियर बर्बाद हुन्छ ।’
अनियमितताको आरोप लागेका परीक्षा अधिकृत हरि तिम्सिनाले भने अनियमितताको आरोप लागेकाले आफूले अनुसन्धानमा सहयोग गर्नका लागि नैतिकताको आधारमा राजीनामा दिने बताए । आरोप प्रमाणित भए त्रिविविले आफूलाई बर्खास्त गर्ने तर प्रमाणित नभए पुनर्बहाली गर्ने उनको भनाइ थियो । आफू निर्दोष साबित भए अनर्गल आरोप लगाउनेमाथि मुद्दा चलाउने उनले बताए ।
परीक्षा अधिकृत तिम्सिनाले माघ २६ गते सहायक केन्द्राध्यक्ष डा. शुशील अधिकारी, कार्यालय सहयोगी राकेश श्रेष्ठ र आफू क्षेपनिका गई त्यहाँका कर्मचारी दीपेन्द्र खड्काबाट विभिन्न संकायका तीन कार्टुन प्रश्नपत्र बुझेको बताए । सोमध्ये १७ पोका प्रश्नपत्र विज्ञान संकायका थिए । सो प्रश्नपत्र क्याम्पसको परीक्षा प्रशासन शाखामा भण्डारण गरिएको उनले बताए । माघ २७ गते परीक्षा सुरु भई तालिका अनुसार परीक्षा चलिरहेकोमा माघ २३ गतेका लागि एमबी ३०३ कोड नम्बर रहेको प्रश्नपत्र आउनुपर्नेमा सो नआई एमबी ३०२ कोड नम्बर रहेको फरक प्रश्नपत्र आएको उनको भनाइ छ । एमबी ३०२ को परीक्षा फागुन १६ गतेका लागि निर्धारित तालिका रहेकोमा १६ फागुनमा सो परीक्षा दिन कुनै पनि विद्यार्थी नआएको उनले बताए । परीक्षा दिन विद्यार्थी नआएको कारणबारे आफूलाई जानकारी नभएको बताउँदै परीक्षा अधिकृत तिम्सिनाले परीक्षा सञ्चालन नभएपछि क्याम्पसले सो प्रश्नपत्र परीक्षा सम्पन्न भइसकेका प्रश्नपत्रको ठाउँमा मिसाएर भण्डारण गरेको बताए ।
परीक्षा अधिकृत तिम्सिनाका अनुसार परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि केन्द्राध्यक्ष वा सहायक केन्द्राध्यक्षको रोहबरमा प्रश्नपत्रहरु परीक्षा सञ्चालन कक्षमा ल्याई गोप्य शाखामा राखिन्छ । १० देखि १५ मिनेटअघि केन्द्राध्यक्ष वा सहायक केन्द्राध्यक्षको रोहबरमा प्रश्नपत्रको सील खोलिन्छ । सील खोल्दा कर्मचारीको हात नहुने भएकाले आफू निर्दोष रहेको उनको कथन छ । उनका अनुसार सहायक केन्द्राध्यक्ष अर्थात् सहायक क्याम्पस प्रमुखले प्रश्नपत्रहरु परीक्षा कोठामा रहेका परीक्षा निरीक्षकलाई दिन्छन् । घण्टि लागेपछि परीक्षा सुरु हुने बताउँदै परीक्षा हलमा आवश्यक सामग्री कार्यालय सहयोगीमार्फत् पुर्याउने काममा मात्र आफ्नो भूमिका हुने बताए । परीक्षा सम्पन्न भइसकेपछि हाजिर संकलन गरी पकेट कन्टेन्ट निर्माण गरी उत्तरपुस्तिका र परीक्षार्थीको सिम्बल नम्बरसहित सिलबन्दी गरी गोप्य शाखामा भण्डारण गरिने उनको भनाइ छ । सो उत्तरपुस्तिका र सिम्बल नम्बर परीक्षा सम्पन्न भएको दिन त्रिविवि केन्द्रीय कार्यालय बल्खुबाट आएको गाडिले उठाएर लगेपछि आफ्नो जिम्मेवारी पूरा हुने तिम्सिनाले बताए ।
क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका प्रमुख सहपरीक्षा नियन्त्रक (डेपुटि कन्ट्रोलर) नन्दकुमार न्यौपानेले भने एमबी ३०३ कोड नम्बर रहेको प्रश्नपत्रको बण्डल गायब भएको नभई काठमाडौँस्थित त्रिविवि केन्द्रीय कार्यालयमै होल्ड भएको जिकिर गरेका छन् । तर, महेन्द्र मोरङमा प्रश्नपत्र नपुगेपनि सोही प्रश्नपत्रबाटै पूर्वाञ्चल क्षेत्रभित्रका अन्य क्याम्पसहरुमा निर्वाध रुपमा परीक्षा सञ्चालन भएको देखिँदा सहनियन्त्रक न्यौपानेको दाबीमा विश्वास गर्न सकिने अवस्था नरहेको अनेरास्ववियु निकट एक विद्यार्थी नेताको भनाइ छ । परीक्षा हलभित्रै सेल्फी खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने विद्यार्थी र त्यस्तो कार्य गर्न दिने परीक्षा निरीक्षकलाई समेत हालसम्म कुनै कारबाही नगरिएको बताउँदै उनले क्षेपनिकाको भूमिकामाथि प्रश्न उठाएका छन् ।