इटहरीः सुनसरीको इटहरीस्थित विराटनगरलाइनमा अवस्थित क्षेत्रीय रङ्गशालामा हिजो एकदिने फुड एन्ड बेभरेज फेस्टिबल सम्पन्न भएको छ ।

जिल्ला होटल व्यवसायी तथा पर्यटन संघ सुनसरीको आयोजना तथा प्रिमियर होटल स्कुलको व्यवस्थापनमा सम्पन्न सो मेलाका मुख्य आकर्षण बेलायतको बीबीसी मास्टर सेफका उपविजेता सन्तोष साह रहेका थिए । प्रदेश १ को आन्तरिक पर्यटन प्रवद्र्धन तथा विद्यार्थीको प्रतिभा प्रदर्शनका लागि आयोजित फेस्टिबलमा होटल व्यवसायसँग सम्बन्धित विषय अध्ययनरत विद्यार्थीलाई विश्वचर्चित व्यक्तित्वबाट प्रेरित गर्ने उद्देश्यले साहलाई आमन्त्रण गरिएको मेला व्यवस्थापनमा संलग्न प्रिमियर होटल स्कुल इटहरीका सीईओ सुनिल भुसालले जानकारी दिए । उनका अनुसार फेस्टिबलमा सोही स्कुलमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेका स्वदेशी तथा विदेशी गरी नौ ओटा खाद्य परिकारका स्टल राखिएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सम्पन्न फेस्टिबलमा नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी, नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरिजम (नाटा) का अध्यक्ष अच्युत गुरागाईँ, नेपाल स्वीस चेम्बर अफ कमर्सका सभापति खेमराज लकाई, पाटा नेपालका सीईओ सुरेशसिंह बडाल लगायतको उपस्थिति रहेको थियो ।

food fest9

 

प्रमुख अतिथि मुख्यमन्त्री राईले फेस्टिबलले पर्यटन प्रवद्र्धनमा नयाँ उर्जा प्रवाह गर्नुका साथै विद्यार्थीहरुको प्रतिभा परिष्कृत गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाल स्टारकी होस्ट तथा मोडल निशा पाठकले गरेकी थिइन् । उपस्थित दर्शकहरुलाई मनोरञ्जनको भरपुर खुराक पस्कनका लागि राष्ट्रिय कलाकारहरु गायक सुगम पोख्रेल, गायिका एलिना चौहान, समीक्षा अधिकारी, किरण भुजेल, प्रकाश ओझा, हास्यकलाकार सुमन कोइराला लगायतलाई पनि आमन्त्रण गरिएको थियो । आम मानिसलाई पूर्वका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले मेलास्थलमा ती गन्तव्यहरुको दृश्यसमेत प्रदर्शन गरिएको थियो ।

देशका विभिन्न भागबाट आएका पाँच हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गर्दै पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्न मेला सफल भएको आयोजकको भनाइ छ । कार्यक्रमका मुख्य आकर्षणका रुपमा आएका मास्टर सेफ रनरअप साहले मोफसलमा यस प्रकारका पर्यटनलक्षित गतिविधि हुनु राम्रो भएको प्रतिकृया दिएका थिए । फेस्टिबलले आफूजस्ता ५० जना सेफ उत्पादन गर्ने उनको अपेक्षा थियो ।

food fest8 food fest7 food fest6  

food fest5 food fest4 food fest3