इटहरीः विश्व सामाजिक कार्य दिवस २०२१’ पूर्वी नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यस वर्षको विश्व सामाजिक कार्य दिवसको नारा ‘हामी छाँै र म छुः सामाजिक ऐक्यबद्धता बढाआँै र विश्वलाई जोडौँ’ रहेको छ । सामाजिक कार्य दिवस मनाउँदै गर्दा सुनसरीको इटहरीस्थित इटहरी नमुना कलेजका विद्यार्थीहरुले भने सरकारसँग आफूहरुलाई सामाजिक कार्य गर्ने व्यक्तिको परिचयस्वरुप लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । विदेशका लागि नभई नेपालका लागि आवश्यक पर्ने सामाजिक कार्यकर्ता निर्माणमा लाग्नुपर्ने सामाजिक अभियन्ताहरुले बताउँदै आएका छन् । इटहरी नमुना कलेज सामाजिक कार्य विभाग प्रमुख शैलेन्द्र राईले सरकारसँग समन्वय गरी सामाजिक कार्यलाई पेसागत रुपमा विकास गर्नुपर्ने बताएका छन् । ‘सामाजिक कार्य भनेको एउटा एकेडेमिक कोर्ष मात्र नभएर प्रोफेसन पनि हो । संसार भरका सामाजिक अभियन्ताहरुले अहिले पहिचानको लडाइँ लडिरहेका छन् ।

नेपालमा पनि सामाजिक कार्य गर्नेहरुलाई पहिचान मिलेको छैन । जसरी युुरोप र अमेरिकाजस्ता विकसित देशमा सामाजिक कार्य पढ्नेलाई लाइसेन्सको व्यवस्था गरिएको छ, त्यसरी नै नेपालमा पनि व्यवस्था गनुपर्नेमा म जोड दिन्छु । हाम्रो माग पनि यही हो’, उनले भने । संसार चलाउने सामाजिक विज्ञान भएको र सामाजिक कार्य विषय पनि यसैको एक अभिन्न अंग भएको विद्यार्थीहरु बताउँछन् । अन्य देशमा लाइसेन्स प्राप्त गरेर सामाजिक कार्य गर्ने गरेको स्मरण गराउँदै विद्यार्थीहरुले नेपालमा लाइसेन्स नहुँदा यो पेसा ओझेलमा परेको बताएका छन् । नेपालमा पनि यो क्षेत्रमा लाइसेन्सको व्यवस्था गर्नुपर्ने विद्यार्थीहरुको माग रहेको छ । ‘हामी सोसियल वर्कको स्टुडेण्ट । हामी यही विषय पढिरहेका छौँ’, नमूना कलेको बी.एस.डब्लू प्रथम वर्षमा अध्यनरत सशिका निरौलाले भनिन्, ‘सामाजिक कार्य सबैले गर्नुहुन्छ । अरु देशमा सोसियल वर्क गर्नेलाई लाइसेन्सको व्यवस्था गरिएको छ । हाम्रो देशमा छैन । त्यसैले लाइसेन्सको व्यवस्था गर्न म सरकारसँग अनुरोध गर्छु ।’

social worker

 

अर्का विद्यार्थी विकास पौडेलले पनि सामाजिक कार्य विषय पढ्ने र काम गर्नेहरुलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । ‘नेपालमा सामाजिक कार्य भनेको ठूला नेताहरुले यो गर्छौँ, त्यो गर्छौँ भनेकै भरमा चलिरहेको छ । व्यवहारिक रुपमा सामाजिक कार्य भइरहेको छैन । नेताहरुले मात्र होइन् पढेर पनि हामीले सामाजिक कार्य गर्न सक्छौँ भनेर हामी यो विषय पढिरहेका छौँ । एउटा गाडि कुदाउनको लागि त लाइसेन्स चाहिन्छ । यो चालक हो, यो यसको लागि उयुक्त छ भनेर प्रमाणित गर्नुपर्छ । त्यसरी नै हामीजस्तो सामाजिक कार्य विषय पढ्ने र सामाजिक कार्य गर्नेको लागि पनि लाइसेन्स आवश्यक छ’, उनले भने । सामाजिक कार्यको पेसागत पहिचान सरकारी स्तरबाटै हुनुपर्ने, साथै सामाजिक कार्यको महत्व बुझाउनुपर्ने आवश्यकता रहेको विद्यार्थीहरूले बताएका छन् । सामाजिक कार्य अध्ययनरत विद्यार्थीले विभिन्न समयमा सामाजिक अभियानहरु पनि सञ्चालन गर्दै आएका छन् । दिवसको अवसरमा विद्यार्थीहरुले इटहरी नगर परिक्रमा, रक्तदान लगायत विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।