ललितपुरः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गाैला उपचार गराउन आउने बिरामीको संख्या बढेको छ ।
पछिल्ला वर्षमा झैँ केही अस्पतालले सो रोगको उपचार सेवा दिन बन्द गरेसँगै यहाँ बिरामीको संख्या बढेको हो । “हामीसँग मिर्गौला डायलासिस गर्ने १४ प्रविधि छ, यसमा १२ मेसिन २४ सै घण्टा निरन्तर चलाउनुपरिरहेको छ,” अस्पतालका निर्देशक डा. रवि शाक्यले भने, “एक दिनमा लगभग ४५ मिर्गौलापीडितको डायलासिस भइरहेको छ । साना बालकदेखि वृद्धसम्म यस रोगको उपचार गराउन आउँछन् ।” पाटनले लामो समयदेखि सो रोगको सिकार भएका मानिसलाई निःशुल्क उपचार सेवा दिनुका साथै नयाँ बिरामीलाई भने वार्षिक एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा दिने गरेको डा. शाक्यले जानकारी गराए ।
सोह्र वर्ष उमेरमुनिका तुलनामा ५० वर्ष उमेर कटेका बढीजसो मानिस उपचार गर्न आउने गरेको अस्पतालका नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठले बताइन् । मिर्गौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । मिर्गौला फेल भएका मानिसको शरीरबाट विषाक्त रासायनिक पदार्थ बाहिर निस्कन पाउँदैन र उनीहरूलाई दिनानुदिन सो रोगले असर गर्दै जान्छ । सो रोग लागेपछि हातखुट्टा अनि अनुहार सुन्निने, थकान महसुस हुने, छाला चिलाउने, भोक नलाग्ने, कम्मरको भाग दुख्ने आदि समस्या देखिने चिकित्सकको भनाइ छ । उच्च रक्तचाप र मधुमेहजस्ता रोग भएका मानिसले मिर्गाैला बचाउन सदैव विशेष ध्यान पु¥याउनुपर्छ । यसैगरी, पाटनले विगत १० वर्षअघिदेखि उपचार सेवा दिन थालेको मानसिक विभागमा समेत बिरामी खचाखच भरिएका बताएको छ । मुलुकमा कोरोना कहर देखिएसँगै पाटनले सो रोगका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन सुरु गरेको छ । अन्य रोगका बिरामी उपचार गराउन आउने संख्या १० देखि ३० प्रतिशत झरेकामा हाल पूर्ववत रूपमा फर्कँदै गइरहेको अस्पताल स्रोतले जनाएको छ । -रासस