भारतको सबैभन्दा ठूलो सिरिन्ज उद्योगका सञ्चालक राजिव नाथ भन्छन्, “विश्वभरबाट दैनिक आउने ४० भन्दा धेरै व्यावसायिक प्रस्ताव अस्वीकार गर्नु परिरहेको छ ।” उनको कम्पनी, हिन्दुस्तान सिरिन्ज एण्ड मेडिकल डिभाइस (एचएमडी) मा सिरिन्जको माग कोभिड खोप अभियान पश्चात झनै आकाशिएको छ । यो उद्योगले हाल एक दिनमा कम्तीमा पनि ४० लाख र प्रति मिनेट ६ हजार सिरिन्ज उत्पादन गरिरहेको छ । तर त्यति गर्दा पनि पर्याप्त नभएको नाथ बताउँछन् ।
विश्वका ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्न कम्तीमा १० अर्ब सिरिन्ज आवश्यक पर्ने उनले बताए । यसकारण पनि सिरिन्ज निर्माता, विश्व स्वास्थ्य संगठन र सरकारबीचको सहकारितामा सुधार ल्याइ खोप अभियानलाई सहज रुपमा अघि बढाउन जरुरी भएको उनले बताए । एचएमडी विश्वको सबैभन्दा ठूलो सिरिन्ज उत्पादकमध्येको एक हो । हरेक वर्ष यो उद्योगमा २.५ अर्ब सिरिन्ज उत्पादन हुन्छ । यो वर्ष चाहिँ उनीहरुले कोभिडका कारण २.७ अर्ब उत्पादन गर्न गइरहेका छन् । महामारीको अवधि आफूहरुका लागि अत्यन्तै चुनौतिमय भएको नाथ बताउँछन् । उनका अनुसार सो समयमा उनीहरुले ५ सयदेखि हजारसम्म कामदारहरु थपेर, तिनलाई प्रशिक्षण दिइ सबै सिकाउनुपरेको थियो । त्यस्तै गुणस्तरमा कुनै सम्झौता नगरि उत्पादनको रफ्तार बढाउनका लागि हौसला दिन पनि कठिन भएको उनी बताउँछन् । विश्व स्वास्थ्यमा उनीहरुको योगदान वास्तवमै महत्वपूर्ण भएकोमा आफूले सधैँ जोड दिने पनि उनले बताए । सिरिन्जको अभाव हुने डरले थुप्रै देशका सरकारले अहिले स्टकमा जम्मा गरेर राख्न थालिसकेकाले पनि माग पुर्याउन कठिन भइरहेको नाथ बताउँछन् ।
खरिद गर्ने इच्छा व्यक्त गर्दै अमेरिका, जर्मनी, इटली, बेलायत लगायत विभिन्न देशबाट आफूहरुले दिनमा तीसदेखि चालीसवटा सम्म इमेलहरु पाउने गरेको उनी बताउँछन् तर आगामी सेप्टेम्बरसम्मका लागि बुक भइसकेकाले सबै प्रस्ताव अस्वीकार गर्नुपरिरहेको उनले बताए । साथै अहिले भारत र विश्वव्यापी मागलाई सन्तुलन गर्न जरुरी भएको पनि उनले बताए । अहिलेका लागि उद्योगले आफ्नो क्षमताको दुई तिहाइ भारत सरकारलाई प्रदान गर्ने र एक तिहाइ मात्र विश्वव्यापी बजारलाई दिलाउन प्रतिबद्ध रहेको उनले जानकारी दिएका हुन् । कम्पनीले अहिले संयुक्त राष्ट्र संघको विश्वव्यापी खोप अभियान, ‘कोभ्याक्स’ लाई पनि आपूर्ति गरिरहेको छ । तर नाथका अनुसार उनीहरुले अझ धेरै उत्पादन गर्न आवश्यक छ । उनले भने, “छिटो उत्पादन गर्न सक्नु नै अहिले कोभिड विरद्धको हाम्रो सबैभन्दा ठूलो लडाईँ हो । सिरिन्जहरु अहिले युद्धभूमीमा बन्दुकको गोली समान हुन् । यसबिना विश्वले कोरोनालाई जित्न सक्दैन । दुनियाँभरका मान्छेलाई कोरोना अघिको अवस्थामा पुर्याउन र विश्व अर्थतन्त्रलाई पुरानो अवस्थामा फर्काउन हामीले जति छिटो गर्न सक्यौँ त्यति नै राम्रो हुनेछ ।” -बीबीसीबाट