गत हप्ता भारतमा दुई लाख ६० हजार नयाँ संक्रमित भेटिए । जसमध्ये ७० प्रतिशत संक्रमित पश्चिमी राज्य महाराष्ट्रका रहेका जनाइएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना नहुनुलाई विशेषज्ञहरुले संक्रमण वृद्धिको प्रमुख कारण मानेका छन् । संक्रमण बढ्नुमा नयाँ प्रकारको भाइरस पनि जिम्मेवार रहेको ठानिएको छ । भारतमा हालसम्म एक करोड १० लाख मानिस संक्रमित हुँदा एक लाख ६० हजारको मृत्यु भइसकेको छ । गत वर्षको सेप्टेम्बरमा दैनिक औसत ९० हजार संक्रिमित भेटिने गरेकोमा यो वर्षको सुरुवातमा यो संख्या घटेर २० हजारमा झरेको थियो । तर, पछिल्ला दिनहरुमा पुनः यो संख्यामा वृद्धि भइरहेको छ । कोरोनाका हजारौँ संक्रमितको उपचार गरेका प्रमुख क्रिटिकल केयर विशेषज्ञ डा. ए फताहुद्दिन संक्रमण बढ्नुलाई आश्चर्यजनक मान्नु नपर्ने बताउँछन् ।

देशमा कोरोना संक्रमण कम भइरहँदा ‘आशावादको गलत धारणा’ले सम्पूर्ण देशलाई नै गाँजेको उनले बताए । “मानिसमा भारत सामूहिक प्रतिरक्षाको उच्च सीमामा पुगिसकेको भन्ने गलत धारणा विकसित भयो,” फताहुद्दिनले भने । खोप कार्यक्रमको सुरुवातसँगै मानिसमा यस्तो धारणा विकसित भएको र सामान्य अवस्थामा झैँ भिडभाडमा निस्केका उनको बुझाइ छ । पछिल्लो समय अवस्था निकै जटिल बन्दै गएको भन्दै डा. फताहुद्दिनले खोप कार्यक्रमलाई तीव्रता दिनुपर्ने बताए । स्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गरिनुपर्नेमा समेत उनले जोड दिए । -बीबीसीबाट