इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाको चतरामा सञ्चालनमा आएको र नेपालकै ठूलो दाबी गरिएको पानीजहाज बितेको एक महिनादेखि बन्द भएको छ ।

बराहक्षेत्र एण्ड मरिन रिर्सोट प्रा.लि.ले सञ्चालनमा ल्याएको सो पानीजहाज पार्टपुर्जाको अभावमा बन्द भएको हो । एकै पटकमा ८० देखि ९० जनासम्म यात्रु बोक्न सक्ने उक्त पानीजहाजको पार्टपुर्जा नेपालमा नपाइने भएकाले विदेशबाट आउन समय लागेको र अहिले पानीजहाज बन्द गर्नु परेको प्रा.लि.का सुपरभाइजर खगेन्द्रप्रसाद घिमिरेले बताए । ‘यो एक महिना अगाडिसम्म सञ्चालनमा थियो । अहिले यसमा एउटा प्राविधिक समस्या आयो । त्यो समस्या अहिले तत्कालै समाधान गर्न सकिँदैन । त्यसैले यो बन्द गर्नुपर्ने भएको छ । यसको पार्ट पनि यहाँ पाइँदैन’, उनले भने । यसका साथै अहिले यो पानीजहाजमा एउटा इन्जिन थपिने भएको छ । जसले वर्षा याममा पनि पानीजहाज चल्न सहज हुने घिमिरे बताउँछन् । ‘अहिले यसमा तीन वटा मात्र इन्जिन छ । यसमा चार वटा इन्जिन बनाएर वर्षामा पनि यसलाई चलाउने हाम्रो टार्गेट छ’, उनले भने । वर्षा याममा यहाँ यात्रु नआएपनि जहाज चल्ने ठाउँका बासिन्दाको खाद्यान्न ओसारपसारको लागि सहयोग पुग्ने उनको भनाइ छ ।

‘वर्षामा प्यासेन्जर नै नआएपनि यहाँका बासिन्दालाई चामल ओसारपसार गर्न यसले सहयोग गर्नेछ । वर्षामा यस्तो आवस्था आउँछ कि, भोजपुरमा चिउरासमेत नपाउने अवस्था हुन्छ । त्यो कुरालाई ध्यान दिएर हामीले यसमा चार वटा इन्जिन लगाउन लागेका हौँ’, सुपरभाइजर घिमिरेले भने । यसका साथै यो पानी जहाज बन्द हुँदा अहिले यहाँ यात्रुले घण्टौँसम्म कुर्नुपर्ने भएको छ । यही प्रा.लि.का अन्य तीन वटा जहाज सञ्चालनकै अवस्थामा भए पनि तीनीहरुले यात्रुलाई सहजता अझै प्रदान गर्न नसकेको सुपरभाइजर घिमिरेको भनाइ छ । ‘अहिले यो जहाज बन्द हुँदा यहाँ घुम्न आउने पर्यटकहरुलाई घण्टौँसम्म लाइन लाग्नुपर्ने अवस्था छ । यो जहाज बन्यो भने उहाँहरुलाई घण्टौँसम्म लाइन बस्नु पर्दैन किनभने यसले एकै पटकमा ६० देखि ७० जनासम्म बोक्न सक्छ । आउँदा त (भोजपुरको हतुवागढीबाट सुनसरीको चतरा) यसले पानीको बेग कम भएकाले ९०÷९२ जनासम्म पनि ल्याउँछ’, उनले भने । यो जहाजमा एटेज ट्वाइलेट, बाथरुम, एसि रुम र अन्य हवाइ जहाजमा हुने सुविधाहरु प्नि राखिएको घिमिरे बताउँछन् । जहाजको पार्टपुर्जा ल्याउनको लागि पहल भइरहेको उनको भनाइ छ ।