इटहरीः कोरोना संक्रमण बढ्न थालेपछि संघीय सरकारले जमघटजन्य गतिविधिमा प्रतिबन्ध लगाउँदै सतर्कता अपनाउन अपिल गरिरहँदा प्रदेश १ सरकार भने शनिबार सुनसरीको इटहरीमा बजेट सिध्याउने उद्धेश्यमा केन्द्रित भई संघीय सरकारको निर्देशन विपरीतको कार्यक्रम गरेको छ ।

संघीय सरकारको गृह मन्त्रालयले चैत ९ गते देशव्यापी रुपमा सतर्कता अपनाउन सूचना जारी गर्दै सबै जिल्लामा परिपत्र गरे अनुसार चैत ११ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि सतर्कता अपनाउन सूचना जारी गरिसकेको पृष्ठभूमिका बाबजुद प्रदेश सरकारले नै सरकारी निर्देशनको मानमर्दन गर्दै मनोमानी ढङ्गले ठूलो संख्यामा मानिस जम्मा गरी सरकारी खर्चमा कार्यक्रम गरिरहेको पाइएको हो । आज पनि सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा त्यस्तै प्रकृतिको एउटा कोठे कार्यक्रम सम्पन्न भएको छ । ‘होली विशेष कार्यपत्र प्रस्तुति तथा काव्य गोष्ठी’ नाम दिइएको सो कार्यक्रममा प्रदेश १ की नवनियुक्त सामाजिक विकास मन्त्री उषाकला राईको प्रमुख आतिथ्य रहेको थियो । निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको सो कार्यक्रमको व्यवस्थापन पक्षसमेत अत्यन्तै फितलो देखियो । कार्यक्रमका बीचबीचमा विद्युत् आपूर्ति बन्द हुँदा वक्ता अक्क न बक्क परेका देखिन्थे ।

नेपाली नाट्य क्षेत्रका प्राज्ञ रमेशरञ्जन झाद्वारा ‘होलीः परम्परा, समाज र सँस्कृति’ विषयक कार्यपत्र प्रस्तुत गरिएकोमा सो कार्यपत्रको प्रतिसमेत सबै सहभागीका हातमा मन्त्रालयले पुर्याउन सकेन । कार्यक्रममा उपस्थित विद्वत वर्गले समेत कार्यपत्रको प्रति अर्का सहभागीसँग सापटि लिएर मात्र सो विषयमा धारणा राख्नुपर्ने सकसपूर्ण परिस्थिति बनेको थियो । यस विषयमा आयोजक मन्त्रालयका अधिकारीहरु भने थोरै संख्यामा मात्र सहभागीलाई लक्षित गरी कार्यपत्रको प्रति तयार पारिएकोमा सहभागीको संख्या बढी भएपछि सबैका हातमा प्रति पुर्याउन नसकेको फितलो तर्क दिएर इज्जत ढाक्न उद्यत देखिन्थे । जबकि, कुनै पनि सरकारी कार्यक्रममा आउने अतिथिको संख्याको जानकारी आयोजकलाई राम्रोसँग हुन्छ । धेरथोर कमीलाई सामान्य मान्न सकिएपनि आधा सहभागीको हातमा पनि कार्यपत्रको प्रति नपुग्नु लज्जाको पराकाष्ठा थियो । कार्यक्रमका लागि प्रदेश सरकारको ढुकुटीबाट व्यहोरिनेगरी १५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको कार्यक्रमस्थलमै भेटिएका एक चर्चित कविले नाम उल्लेख नगर्ने सर्तमा प्रदेश पोर्टललाई सुनाए । कार्यक्रममा मुस्किलले एक डेढ सय मानिस सहभागी थिए । तर त्यो कार्यक्रम सम्पन्न भइसक्दा प्रदेश सरकारको १५ लाख रुपैयाँ सिध्याउने बाटो खुल्यो । केही दिनअघि मात्र इटहरीमा रहेको वैदेशिक शिक्षाको पहुँच र परामर्श सेवा दिने संस्था ओली एन्ड एसोसियट्सको प्रायोजनमा इटहरीकै साहित्यिक संस्था ‘शब्द प्रवाह’ ले एक सय ५० जनाभन्दा बढीको सहभागितामा गरेको ‘इटहरी काव्य सन्ध्या’ शीर्षकको कार्यक्रम ३० हजार रुपैयाँको खर्चमा सम्पन्न भएको एसोसियट्सका सञ्चालक उमेश भण्डारीले बताए ।

यता, आजको कार्यक्रमका लागि कार्यक्रमस्थलमा उपस्थित अधिकांश सहभागीहरु माक्स नलगाई उपस्थित थिए । स्वास्थ्य मापदण्ड पालना गरी चाडपर्व मनाउन स्थानीय प्रशासनले बजार क्षेत्रमा माइकिङसमेत गरिरहँदा प्रदेश सरकारका मन्त्रीसमेत सहभागी भई ठूलो संख्यामा मानिस जम्मा गराइएको कार्यक्रम पार्टी प्यालेसको हलभित्र चलिरहेको थियो । सरकारले निर्धारण गरेको दुई मिटरको सामाजिक दूरीको प्रावधानको त कार्यक्रम आयोजक मन्त्रालयले सर्वस्वहरण नै गरिदियो । कार्यक्रमस्थलमा राखिएका कुर्सी मुस्किलले दुई इन्चको फरकमा राखिएका थिए । प्रदेश १ को प्रदेश प्रमुखको कार्यालयले भोलि अर्थात् चैत १५ गतेका लागि तय गरेको होली मिलन कार्यक्रम स्थगित गरेको पृष्ठभूमिमा प्रदेश सरकारका मन्त्रालयहरु भने पूर्वनिर्धारित तालिकाका नाममा जमघटलाई निरन्तरता दिइरहेका छन् । केही दिनअघि मात्र प्रदेश १ मुख्यमन्त्री शेरधन राई मोरङ व्यापार संघले आयोजना गरेको सार्वजनिक होली मिलन कार्यक्रममा सहभागी हुँदा सरकारी निर्देशनको अवज्ञा गरेको भन्दै चर्को आलोचना भएको थियो । संघीय सरकारले जारी गरेको परिपत्रविपरीत प्रदेश सरकारले कार्यक्रम सञ्चालन गर्नु कति उचित हो रु भन्ने प्रदेश पोर्टलको जिज्ञासामा जनता बहुमुखी क्याम्पस इटहरीका अध्यापक डा.टोलनाथ काफ्लेले पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रदेश सरकारले निरन्तरता दिएको तर्क गरे । यद्यपि, आगामी दिनमा कार्यक्रम आयोजना गर्नुपूर्व सरकारले नियम र निर्देशनको पनि ख्याल गर्नुपर्ने उनको भनाइ थियो । सरकारले जारी गरेका नियमनकारी आदेश, निर्देशन तथा कानूनी प्रावधानको कार्यान्वयन गर्न प्रथमतः सरकार नै प्रतिबद्ध हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रमका क्रममा कविता वाचन गर्ने कविहरुलाई प्रमाणपत्रका साथै नगद रकमको खामसमेत थमाइएकोमा सो खाममा कति रकम थियो भन्ने तथ्य पनि आयोजकले गुपचुप नै राख्यो । यसबाट प्रदेश सरकारको अपारदर्शी रबैया छताछुल्ल भयो, भलै कसैले कुनै प्रश्न भने उठाएनन् । कार्यक्रमकी प्रमुख अतिथि सामाजिक विकास मन्त्री उषाकला राईले समानता र सामाजिक न्यायका ठूलाठूला भाषण गरिन् । संविधानले सबै महिलालाई अधिकार दिएको उनको जिकिर थियो । एकातिर संविधानले महिलाका सबै अधिकार सुनिश्चित गरेको रटान लगाएकी मन्त्री राईले सरकारी नीतिमा हालसम्म महिलामाथि विभेद भने कायमै रहेको दृष्टान्त प्रस्तुत गर्दा दर्शकदिर्घा अन्योलमा परेको थियो । आफ्नी आमाको मृत्यु हुँदा आफूले नै केश मुण्डन गरी कृयापुत्री बसेर सामाजिक सँस्कारमा रहेको विकृति उन्मुलनको शंखघोष गरेको स्मरण गरेकी मन्त्री राई कार्यक्रमस्थलमा भने ढिलो गरी उपस्थित भएकी थिइन् । समाजवादोन्मुख शासन व्यवस्थाको पक्षमा आवाज बुलन्द गरेकी मन्त्री राई कार्यक्रमस्थलको अग्रभागमा बनाइएको स्टेजमा राखिएको आलीसान सोफामा विराजमान रहँदा दर्शकदिर्घा भने उनकै सम्मुख पर्नेगरी राखिएका प्लाष्टिकका कुर्सीमा बसेर उनका चिल्ला भाषण सुनिरहेका देखिन्थे । आफ्ना भाषणमार्फत् आजैदेखि समाजवादोन्मुख शासन स्थापनाका लागि अग्रसर हुन दर्शकदिर्घालाई प्रेरित गरेकी मन्त्री राईले स्थानीय स्तरमा उत्पादित मदिरालाई ब्राण्डिङ गरी सोको बिक्रीबाट पैसा कमाउने प्रदेश सरकारको योजना सुनाउन पनि पछि परिनन् । जबकि, मदिरा विलासिताको वस्तु हो, यसको प्रचारप्रसारमा सरकारले रोक लगाएको छ ।

न्याय र समानताका पक्षमा धाराप्रवाह प्रवचन दिनुका साथै मन्त्री राईले आफूसँग समृद्धिका धेरै एजेन्डा रहेको भन्दै दर्शकदिर्घालाई मख्ख पारिन् । जनप्रतिनिधि उद्घाटनमा सहभागी हुने श्रृङ्खला आफूले तोड्ने स्वघोषणा गरेकी मन्त्री राई आफ्नो भाषण समाप्त हुनासाथ अर्को कार्यक्रमका लागि रवाना भइन् । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रस्तुत भएको कार्यपत्रउपर प्राध्यापक डा।टङ्कप्रसाद न्यौपानेले विश्लेषणात्मक टिप्पणी गरका थिए । समाजवादोन्मुख समाजको कल्पना गरिरहँदा होली पर्व समाजवादोन्मुख भए नभएको विश्लेषण पनि कार्यपत्रमा हुनु आवश्यक रहेको उनको टिप्पणी थियो । चाडपर्व, परम्परा, खुवालुङलगायत अन्य पुरातात्विक तथा धार्मिक महत्वका सम्पदा सँस्कृतिका अङ्ग भएकाले संरक्षण गरिनुपर्ने उनले उल्लेख गरे । कार्यपत्र बौद्धिक र अध्ययनमा आधारित रहेको उनको निष्कर्ष थियो । मन्त्रालयले भोलि पनि होली पर्वकै सन्दर्भमा इटहरीस्थित जनता प्राविको खेल मैदानमा साँस्कृतिक कार्यक्रमसमेत आयोजना गरेको छ ।