बच्चाहरुका सामु नकारात्मक शब्द प्रयोग गर्ने गर्दा उनीहरुमा अरुप्रति नराम्रो धारणा उब्जाउने गरेको नयाँ रिसर्च सार्वजनिक भएको छ । जर्नल ‘चाइल्ड डेभेलपमेन्ट’ मा प्रकाशित यस अध्ययनमा अभिभावक वा ठूला मान्छेले कुनै एक समूहप्रति नकारात्मक शब्द भनेको सुनेमा बच्चाहरुले पनि उनीहरुप्रति त्यस्तै भेदभावपूर्ण नराम्रो धारणा सिर्जना गर्ने गरेको पाइएको हो । यसमा चारदेखि नौ वर्षको उमेरका १२१ बालबालिकाहरुलाई ससानो समूहमा विभाजित गरिएको थियो जसमा उनीहरुलाई या त कुनै बच्चा या ठूलोकै मुखबाट एक काल्पनिक समूहबारे नकारात्मक दाबी सुनाइएको थियो । सबैलाई अप्रत्यक्ष माध्यमबाट नकारात्मक संवाद सुनाइएको थियो । उनीहरुका अगाडि काल्पनिक समूह ‘गियरुज’ एकदमै खराब हुन्छन्, उनीहरु फोहोर खाना खान्छन् अनि अनौठो पहिरन लगाउँछन् र तिनको भाषा पनि एकदम कुरुप छ भनिएको थियो ।
यो संवाद सुनेलगत्तै ७ वर्ष र सो भन्दा माथि उमेरका बालबालिकाहरुले पनि त्यस काल्पनिक समूहप्रति गलत धारणा राख्न थालेका हुन् । उता यसबारे कुनै नकारात्मक कुरा नसुनेका बच्चाहरुमा यस्तो पाइएन । यसको दुई हप्तापछि ती बच्चाहरुको फेरि अन्तर्वार्ता लिइएको थियो जसमा उनीहरुले अझैसम्म पनि सो समूहप्रति नकारात्मक धारणा राख्ने गरेको पत्ता लागेको थियो । साइकोलोजी र मानव विकासकी डक्टोरल उमेदवार एमिली कोन्डोरका अनुसार बच्चाहरुले सधैँ मान्छेलाई विभिन्न रुपमा विभाजित गरिरहेका हुन्छन् । र त्यो उमेरमा आफ्नो वरपरको दुनियाँलाई बुझ्न छालाको रङ, पहिरन लगायत बाहिरी स्वरुपका आधारमा मान्छेलाई विभाजित गर्नु स्वभाविक हो । यसमा अर्को आश्चर्यजनक खोज भनेको ४ र ५ वर्षका सहभागीहरुमा चाहिँ यसको कुनै विशेष प्रभाव नपरेको पाइएको हो । कोन्डोरले सानाहरुमा किन यसले उल्लेखनीय प्रभाव पार्न सकेन भन्ने आफूले पनि नबुझेको बताइन् । यसमा उनीहरुको ध्यान दिने क्षमता छोटो भएकाले हुन सक्ने उनको अनुमान छ ।
बच्चाहरुको विकासमा अभिभावकको भूमिका
अमेरिकन साइकोलोजिकल असोसिएसनका प्रमुख मेसा अक्बरका अनुसार यी कारणले पनि अभिभावकहरुले बच्चा अगाडि बोल्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ चाहे त्यो अप्रत्यक्ष नै किन नहोस् । अर्कोतर्फ बाबुआमाले यही रिसर्चलाई आधार मानेर आफ्ना बालबालिकामा सकारात्मक प्रभाव पनि पार्न सक्ने अक्बरले बताए । उनीहरुलाई सबै समूह सबै प्रकारका मानिसको मित्रका रुपमा स्थापित गराउन सकिने उनले बताए । जस्तै यसमा विभिन्न किसिमका खेलौनाहरु किनिदिने र साथीको समूहमा पनि विविध पृष्ठभूमि रहेको सुनिश्चित गराउने सकिने उनले बताए । उनले भनेका छन्, “हामीले जति छिटो बच्चाहरुका सामु सबै सामान्यीकरण गर्न सक्छौँ त्यति नै उनीहरुले सामाजिक विविधतालाई अपनाउनेछन् र संलग्न हुनेछन् ।” -सीएनएनबाट