इटहरीः अहिले छिमेकी देश भारतमा दैनिक ४० हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै नेपाल सरकारले सर्तक रहन र भीडभाड तथा मेला उत्सव नगर्न अनुरोध गरेको छ ।

सरकारको निर्देशनलाई पालना गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरिसकेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि गत चैत ११ गते होली लक्षित गर्दैै एक सूचना जारी गरेको थियो । उक्त सूचनाको पहिलो बुँदामा नै ‘निकट रहेको फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड नगर्ने÷नगराउने’ उल्लेख गरिएको थियो । तर, आइतबार सुनसरीको इटहरीमा भने प्रदेश १ को सामाजिक विकास मन्त्रालयले नै जिल्ला प्रशासनको सूचनालाई अवज्ञा गर्दै होली विशेष कार्यक्रम गरेको छ । मन्त्रालयको कार्यक्रमा नवनियुक्त सामाजिक विकासमन्त्री उषाकला राई स्वयम उपस्थित थिइन् ।

आश्चर्यको कुरा के भने, उनी मञ्चमा बिनामास्क नै बसेकी थिइन् । उनीसँगै निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी पनि उपस्थित भएका थिए । सो कार्यक्रममा उपस्थित हुने दर्शक, कलाकारले मात्रै होइन, मञ्चासीन विशिष्ट व्यक्तिमध्ये धेरैले मास्क नै लगाएका थिएनन् ।

image1 1 image2 1