ढाकाः बंगलादेशमा कोरोनाभाइरसको संक्रमण रोक्न गरिएको लकडाउनविरूद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रदर्शनकारीहरूले प्रहरी कार्यालयमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर तीन जना घाइते भएका छन् । सोमबार साँझ फरिदपुर जिल्लाको सल्थामा कोरोनाविरूद्धका स्वास्थ्य उपायहरू अपाउन कार्यन्वयन गराउने क्रममा प्रहरीको कुटपिटबाट बजारमा एक जना घाइते भएको भन्ने हल्ला फैलिएको थियो । त्यसपछि हजारौंको संख्यामा प्रदर्शनकारीहरू बाहिर निस्किएका थिए । उनीहरूले प्रहरी कार्यालय र सरकारी कार्यालयहरूमा ढुंगामुडा गरेका थिए । सरकारी अधिकारीको घर र दुई वटा गाडीसमेत जलाएको प्रहरीले बताएको छ ।

’उनीहरूले प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले आत्मसुरक्षामा गोली चलाएको हो,’ फरिदपुर जिल्ला प्रहरीका प्रवक्ताले एएफपीलाई भने । प्रहरीले कति जना घाइते भएको भन्ने जानकारी दिएको छैन। फरिदपुर मेडिकल कलेज अस्पतालको आपतकालीन वार्डका डाक्टर अब्दुल माटिनले तीन जनामाथि गोली लागेको बताए । डाक्टरका अनुसार गोली लागेका तीन जनाको अवस्था गम्भीर छ । बंगलालेशले सोमबारदेखि सात दिन देशव्यापी लकडाउनको घोषणा गरेको थियो । कोरोना भाइरस संक्रमितको संख्या बढेपछि लकडाउन गर्ने निर्णय गरेको हो । आइतबार मात्र त्यहाँ कम्तिमा सात हजार ८७ जनामा कोरोना पुष्टि भएको छ ।

राजधानी ढाकामा पनि सयौं पसल व्यापारीहरूले लकडाउनको विरोध गरेका थिए । उनीहरूले आफ्नो व्यापारमा घाटा गर्ने भन्दै विरोध गरेका थिए । प्रहरीका अनुसार प्रहरी कार्यालयमाथि भएको आक्रमणमा हिफाजत–इ–इस्लामको संलग्नता छ । सो समूहले गत महिना बंगलादेश आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध प्रदर्शन गरेको थियो । त्यो प्रदर्शन पनि हिंसात्मक बनेको थियो । समूहले अहिलेको घटनाको जिम्मा भने लिएको छैन । -एजेन्सी